यस्तो छ कोरोना भाइरससँग लड्न थाहा नगरपालिकाको तयारी

बाइलाइन नेपाल
२९ चैत्र २०७६, शनिबार १२:५९
फाइल तस्वीर

थाहा नगरपालिकाले कोरोनासँग लड्न जिल्लामै सुविधासम्पन्न क्वारेन्टाइन तयार गरेको छ । आइसोलेसन वार्ड उत्तिकै व्यवस्थित छ । प्रभावकारी उपकरण छन् । खटाइएका जनशक्ति जिम्मेवारीपूर्वक काम गर्छन् ।

थाहा–६ स्थित ओम् अध्याय रिट्रिट प्रालिले उपलब्ध गराएका २५ कोठामा क्वारेन्टाइन सञ्चालन गरिएको छ। तीमध्ये पाँचवटा हाइकेयर कक्ष र बाँकी सामान्य सुविधाका हुन्। क्वारेन्टाइनमा एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स तथा तीन जना अनमी नियुक्त गरिएका छन्, तीन महिनाका लागि। हाइकेयर कक्षभित्र भान्सा तथा अन्य आवश्यक मेडिकल सामग्रीहरूको व्यवस्था गरिएको छ।

‘५० बेडको अस्पताल बनाउने तयारीमा थियौं। तर, आवश्यक मेडिकलजन्य सामग्री नपाइएपछि होटलसँग सहकार्य गरेर क्वारेन्टाइन निर्माण गरिएको हो’, मेयर लवशेर विष्टले भने। उनका अनुसार होटलले कोठा निःशुल्क उपलब्ध गराएको हो।

‘बेडसिट मात्र किन्यौं। अरू सबै होटलकै प्रयोग गरेका हौं। मात्र ४० लाख रुपैयाँबराबरको बजेटको परिधिमा रहेर काम गरिरहेका छौं,’ विष्टले भने। नगरमा विपद् व्यवस्थापन कोष स्थापना भएको र त्यसमा पनि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको उनले बताए।

घरमै पुगेर स्वास्थ्य परीक्षण

थाहा नगरभित्र ७० जना विदेशबाट फर्किएकाहरू छन्। उनीहरूलाई उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षण गर्न मेडिकल अधिकृतको टोली घरघरै खटाउने गरिएको छ।

‘हरेक दिन विदेशबाट आउनेको स्वास्थ्यस्थिति बुझ्ने व्यवस्था मिलाइएको छ। उनीहरूको नियमित जाँचको अवधि सकियो। अझै फलोअप गर्दै छौं’, कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सचिवालयका संयोजक शाखा अधिकृत विवेक विडारीले भने, ‘वडाध्यक्षको संयोजकत्वमा टोल बस्तीको क्लस्टर छुट्ट्याई निगरानी गर्ने व्यक्तिसमेत तोकिएको छ।’

यसका लागि सवारीको व्यवस्था नगरपालिकाले नै गरिदिएको छ। डा. सुबोध चापागाईं र डा. उदय रोक्का बिरामीलाई नियमित फोन गरेर आवश्यक परामर्श दिइरहेका छन्।

नाकाहरूमा नगर प्रवेश गर्नेहरूको तथ्यांक राख्ने र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ। ‘यो अभियानमा प्रहरी, स्वास्थ्यकर्मी, नागरिक समाज, दलका प्रतिनिधि सबैले हातेमालो गरिरहेका छन्’, विडारीले भने।

मूल्य सूची र खाद्य स्टक प्रमाणित अनिवार्य

थाहा नगरपालिकामा ५० हजारजति मानिस बसोबास गर्छन्। उनीहरूलाई खाद्यान्नको आपूर्ति, मूल्यसूची, दैनिक खाद्यान्न मौज्दातजस्ता सबै कुरा व्यवस्थित बनाइएको छ। पसल सञ्चालकलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ। ‘सुरुमा हामीले दियौं। अहिले उहाँहरू आफैंले खरिद गरेर प्रयोग गरिरहनुभएको छ’, उपमेयर खड्ग गोपालीले भने।

ग्राहकलाई समेत सेनिटाइर र मास्क प्रयोग गर्न वडा कार्यालयमार्फत व्यवस्था मिलाइएको छ। लकडाउन थप प्रभावकारी बनाउन नगरपालिकाबाट बजार अनुगमन टोली खटाइने गरेको गोपालीले बताए।

औषधि होम डेलिभरी

नगरपालिकाले त्यस क्षेत्रमा रहेका कडा रोगका बिरामीहरूलाई औषधि अभाव हुन नदिन घरमै पुर्‍याइदिने व्यवस्था मिलाएको छ। ‘थाहामा नपाइने औषधि काठमाडौंबाटै ल्याएर पुर्‍याइरहेका छौं,’ मेयर विष्टले भने। उनका अनुसार बिरामीका आफन्तले वडा कार्यालयमा पैसा बुझाउने र त्यसैबाट औषधि खरिद गर्ने गरिएको छ।

राहतमा कडाइ

नगरले राहत वितरण पनि व्यवस्थित बनाउने नीति लिएको छ। ‘राहत वितरण कार्यविधि तयार गरिसकेका छौं। परिवारको संख्याका आधारमा एकपटकमा सात दिनलाई पुग्ने खाद्यान्न उपलब्ध गराउँनेछौं,’ सचिवालय संयोजक विडारीले भने।

उनका अनुसार हालसम्म एउटा वडामा मात्र राहत वितरण गरिएको छ। ‘राहतमा एकद्वार नीति लिएका छौं। हालसम्म नौ जनालाई मात्र राहत वितरण गरेका छौं। वडावडामा तथ्यांक संकलनको काम गरिरहेका छौं। राहत सामग्री एकमुष्ट घरमा पुर्‍याउँदैनौं। यो हुल गर्ने समय होइन। त्यस कारण नजिकैको किरानाबाट खरिद गर्ने गरी कुपन उपलब्ध गराउँछौं’, उनले भने। -ईकान्तिपुर डटकमामा सुवास विडारीले लेखेको समाचार साभार 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*