के–के काम गर्यो बाग्मती प्रदेशको सञ्चार रजिष्टार कार्यालयले एक वर्षमा ?

बाइलाइन नेपाल
२८ चैत्र २०७६, शुक्रबार १५:५८

हेटौंडा । सात प्रदेश मध्ये सञ्चार रजिष्टारको कार्यालय स्थापना गरेर सूचना तथा सञ्चारको क्षेत्रमा काम गर्ने बाग्मती प्रदेश सरकार मात्र हो । अरु प्रदेशले अहिलेसम्म सञ्चार रजिष्टारको कार्यालय समेत स्थापना गरेका छैनन् ।

बाग्मती प्रदेश सरकारले सञ्चार रजिष्टारको कार्यालय स्थापना गरेर काम सुरु गरेको एक वर्ष पुगेको छ । बाग्मती प्रदेश मन्त्रिपरिषद्ले २०७५ चैत २७ गते नेपालमा पहिलो सञ्चार रजिष्टारको रुपमा सञ्चारकर्मी रेवती सापकोटालाई नियुक्त गरेको थियो ।

सञ्चार रजिष्टारको कार्यालय स्थापना भएको र आफु रजिष्टार  भएको एक वर्षमा केहि उपलब्धिमूलक काम गर्न सफल भएको सापकोटाले बताए । एक वर्षे कार्यकालको समिक्षा गर्दै रजिष्टार सापकोटाले यो अवधिमा करीव एक सय जना पत्रकारले सफटवेयर मार्फत परिचयपत्र प्राप्त गरेको, प्रदेशबाट चार वटा टेलिभिजन र चार वटा एफ एम रेडियोलार्ई इजाजत दिएको जानकारी दिए ।

यसैगरी कार्यालयले ६० जना पत्रकारलाई मोबाइलबाट पत्रकारिता तालिम प्रदान गरेको, लेखन तथा प्रसारण बृत्ति कार्यविधि स्वीकृत गराई २० जना पत्रकारले लेखन तथा प्रसारणबृत्ति पाएको, पत्रकारिता र सूचना प्रविधिमा शोधपत्र तयार गर्न सहयोग गर्ने कार्यविधि स्वीकृत भएर निवेदन प्राप्त भइरहेको, प्रदेशको सूचना बैंक बन्ने प्रक्रिया शुरु भएको छ । असारमसान्तसम्म प्रदेशका केन्द्रीय निकायको सूचना बैंकबाट प्राप्त गर्न सक्ने गरीकाम भइरहेको सापकोटाले बताए ।

यस्तै, अनलाइन पत्रकारिता र डिजिटल साक्षरतामा बिज्ञ लेखकबाट पुस्तक तयार गर्ने काम हुँदै, बाग्मती प्रदेशको आमसञ्चारको अवस्थाका बारेमा सर्भेक्षण भइरहेको, विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रमको कार्यविधि स्वीकृत भएको, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र श्रमजीवी पत्रकारको अवस्थाका बारेमा अन्तक्र्रिया भएको, पत्रकार कल्याण कोष सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको छ । केहि नीतिगत निर्णय गर्न बाँकी रहेको जनाइएको छ ।

सञ्चार रजिष्टार कार्यालयले संघ र प्रदेश वीच समन्वयका लागि गर्नु पर्ने केहि नीतिगत निर्णयको पहिचान गरेको, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐनमा देखिएका समस्यालाई सम्बोधन गर्न ऐन संशोधनको मस्यौदा तयार गरेको रजिष्टार सापकोटाले बताए ।

प्रदेशका सञ्चारकर्मीलाई सेवा लिन सहजताका लागि बाग्मती प्रदेशको राजधानी हेटौंडा र काठमाडौंबाट कार्यालय सञ्चालन गरिएको उनले जानकारी दिए । एकवर्षको अवधिमा कार्यालयमार्फत् प्रदेश सरकारलाई झण्डै एक करोड रुपैया राजस्व संकलन भएको सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*