अरु स्थानीय तहले पनि सिक्ने हो कि भीमफेदी गाउँपालिकाबाट राहत वितरणको तरिका

ध्रुव अधिकारी
२८ चैत्र २०७६, शुक्रबार ०८:३१

हेटौंडा । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनमा स्थानीय तहहरुले मनलाग्दी रुपमा राहत वितरण गरिरहेको अवस्थामा मकवानपुरको भीमफेदी गाउँपालिकाले भने फरक शैली र पारदर्शी रुपमा राहत वितरण गर्ने तयारी गरिरहेको छ ।

वास्तविक प्रभावितको पहिचान समेत नगरी जथाभावी रुपमा राहत वितरण गरेर अरु स्थानीय तह आलोचित भइ रहँदा भीमफेदी गाउँपालिकाले मापदण्डसहित प्रभावितको तथ्याङ्क सङ्कलन गरेर वितरण गर्ने राहत र लाग्ने खर्च समेत सार्वजनिक गरेर काम गरिरहेको छ । भीमफेदी गाउँपालिकाले राहत वितरणका लागि गरेको कामको सिको अरु स्थानीय तहले पनि गर्नु आवश्यक देखिन्छ ।

गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित आफ्नो गाउँपालिका भित्र रहेका २१० घरपरिवारलाई राहत वितरण गर्ने तयारी गरेको हो ।

गाउँपालिकाको ९ वटै वडाबाट प्रभावित घरपरिवारको तथ्याङ्क सङ्कलन गरेर राहत वितरणको तयारी गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । अन्य स्थानीय तहले राहत मात्र वितरण गरिरहेको अवस्थामा भीमफेदीले भने कति जनालाई कति रकम बराबरको राहत वितरण गर्ने भन्ने कुरा सार्वजनिक गरेरमात्र वितरण गर्न लागेको हो ।

गाउँपालिकाले घरमुलीको नाम, वडा नम्बर, परिवार संख्या र कति कुन वडामा बसोबास गर्ने तथ्याङ्क टोल, वडाबाट सङ्कलन गरेर मापदण्ड अनुसार कति परिवार संख्या भएकालाई कति राहत दिने भन्ने निर्णय गाउँपालिकाले गरेको अध्यक्ष लामाले बताए । उनका अनुसार गाउँपालिकाले अहिले पहिलो चरणको राहत वितरण गर्न लागेको हो । राहत शुक्रबारबाट वितरण सुरु गरिने जनाइएको छ ।

गाउँपालिकाले चामल ३० केजी, दाल ३ केजी, चिनी २ केजी, साबुन ४ वटा, आयो नुन २ प्याकेट र तेल २ लिटर प्रति परिवार उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष लामाले जानकारी दिए । २ जना वा सो भन्दा कम परिवार संख्या भएकालाई तोकिएको भन्दा आधा मात्र राहत सामाग्री उपलब्ध गराइने निर्णय भएको छ ।

गाउँपालिकाले पहिलो चरणमा ९ वटै वडाका २१० घरपरिवारलाई चार लाख ४६ हजार एकसय ३२ रुपैयाँ ५० पैसा बराबरको राहत सामाग्री उपलब्ध गराउन लागेको अध्यक्ष लामाले जानकारी दिए । राहत वितरणमा केही दिन ढिलाई भएपनि वास्तविक प्रभावित र पारदर्शी होस भनेर अन्तरिक गृहकार्यमा समय खर्चिएको अध्यक्ष लामाले बताए ।

‘पछि कति राहत को–कोलाई विरण गर्यो भनेर सबैलाई प्रश्न गर्ने र शंका उब्जने ठाउँ राख्नु भन्दा केही दिन ढिला भएपनि वास्तविस प्रभावितसम्म पुर्याउने र राहत वितरणलाई पारदर्शी बनाउने काममा गाउँपालिका लागेको छ । यसले राहतको नाममा अनियमितता गर्ने तथा हुनेखानेले राहत पाउने अवस्था रहदैन,’– अध्यक्ष लामाले भने ।

वडा कार्यालयहरुबाट आएको प्रभावितको नामावली अनुसार चैत २७ गते बसेको गाउँकार्यपालिकाको बैठकले ‘भीमफेदी गाउँपालिकाको असंगठितक्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत सम्वन्धि मापदण्ड–२०७६’ बमोजिम २१० जनालाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले राहतका लागि प्रभावितहरुको नामवलीसहित सार्वजनिक सूचना नै जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*