काँग्रेस नेता बानियाँले दिए राक्सिराङ र मनहरी गाउँपालिकालाई तीन लाख

बाइलाइन नेपाल
२६ चैत्र २०७६, बुधबार १५:२०

हेटौंडा । वाग्मती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रस्थित दुईवटा गाउँपालिका पुगेर बुधबार कोरोना भाइरसविरुद्ध अभियानका लागि ३ लाख रुपियाँ सहयोग गरेका छन् ।

विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाईरसको बढ्दो संक्रमण र जोखिमलाई नियन्त्रण गर्न नेता बानियाँले मकवानपुरकै राक्सीराङ गाउँपालिकालाई २ लाख र मनहरी गाउँपालिकालाई १ लाख रुपियाँ सहयोग गरेका हुन् ।

मकवानपुरको क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित बाग्मती प्रदेशसभाका सदस्य समेत रहेका नेता बानियाँले केहीदिन अघि विज्ञप्ती निकालेर घोषणा गरे बमोजिम राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषमा आफूले जम्मा गरेको रकमको भौचर बुधबार हस्तान्तरण गरेका छन् ।

त्यसैगरी नेता बानियाँले राक्सीराङ र मनहरी गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डकोसमेत निरीक्षण समेत गरेका छन् । प्रमूख प्रतिपक्षी दलका नेता बानियाँले कोरोनाको बढ्दो संक्रमण र संभावित जोखिमलाई मध्यनजर गर्दै दुवै गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डको निरीक्षण गर्दै गाउँपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई विशेष धन्यवादसमेत दिए ।

यसैबीच, नेता बानियाँले राक्सीराङ गाउँपालिका– ५ बोटबारीका ज्यालादारी र मजदुरी गरेर खाने ३० घरपरिवारलाई खाद्य सामाग्री हस्तान्तरण गरेका छन् । लकडाउनको समयमा आर्थिक अवस्था कमजोर रही छाक टार्न समस्या परेका ३० घर परिवारलाई राक्सीराङ गाउँपालिकाले विपद व्यवस्थापन कोषबाट खाद्य सामग्री वितरण गरेको हो ।

दुवै गाउँपालिकाको आइसोलेशन वार्ड निरीक्षण तथा रकम हस्तान्तरण कार्यक्रममा कांग्रेसका महासमिति सदस्य रञ्जन कालाखेती, कांग्रेस २ ख को क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस मनहरी गाउँपालिका सभापति नारायण उप्रेती, राक्सीराङ ५ का वडा अध्यक्ष चन्द्रसिं प्रजा, राक्सीराङ गाउँपालिकाका कार्यकारी अधिकृत युवराज आचार्यगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*