हेटौंडाका खाद्य, दाना र दुग्ध उद्योग आंशिक रूपमा खुल्ला

बाइलाइन नेपाल
२६ चैत्र २०७६, बुधबार १०:५१

हेटौंडा । लकडाउनको अवस्थामा पनि सरकारले अत्यावश्यक उद्योगको उत्पादन पूर्ण क्षमताका साथ सुचारु गराउने भने पनि यहाँका उद्योग संचालन हुन सकेका छैनन् ।

हेटौंडा औधोगिक क्षेत्र भित्र रहेका १ सय ११ वटा उद्योगमध्ये २० वटा उद्योग आशिंक रूपमा संचालन भइरहेका छन । ठूला उद्योगको रूपमा रहेका भ्याली पेलेट फिड इन्डस्ट्रिज, सिद्धार्थ पेलेट फिड इन्डस्ट्रिज, खाद्य उद्योग र हेटौंडा दुग्ध वितरण आयोजना आंशिक संचालनमा आएका छन् ।

भ्याली पेलेट फिड इन्डस्ट्रिजको १ सय १० जना कामदारमध्ये ३५ जना मात्रै आएर उद्योग संचालन गरिरहेका छन् भने सिद्धार्थ पेलेट इन्डस्ट्रिजका ६५ जनामा ३२ जनाले काम गरिरहेका छन्। यसैगरी हेटौंडा दुग्ध वितरण आयोजनाका १ सय २० जनामध्ये ६० जनाले काम गरिरहेका छन् भने खाद्य उद्योगमा २६ जनालेमात्र काम गरिरहेका छन् । उद्योगहरु एक सिफ्टमात्र चलिरहेका छन् । ‘सिंगो कामदारको हिसाबले ६- ७ प्रतिशतमात्र मजदुर उपस्थित भएर उद्योग संचालन भइरहेका छन,’ उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले भने, ‘औधोगिक क्षेत्र र बाहिरका ठूला उद्योग संचालन हुन सकेका छैनन्।’

औधोगिक क्षेत्र भित्रका उद्योगमा ५ हजार मजदुर कार्यरत छन् । सरकारले उद्योगमा कार्यरत मजदुरहरूलाई उद्योग भित्र नै आवासको व्यवस्था गर्नुपर्ने शर्त राखेकाले उद्योग संचालन गर्न कठिनाई भएको उद्योग व्यवस्थापनले जनाएको छ। युनिलिभर लिमिटेडका व्यवस्थापकले उद्योग संचालन गर्ने रुची देखाएका थिए। उद्योगमा रहेका मजदुरलाई उद्योग भित्र आवास र खानपिनको व्यवस्था गर्नुपर्ने भएपछि उद्योग संचालनमा ल्याएका छैनन् ।

औधोगिक क्षेत्रभित्र रहेका दुग्ध, साबुन, कुकिज, दाना र प्लास्टिक प्याकेजिङ उद्योगहरू आंशिक रूपमा सञ्चालनमा रहेको कार्यालय प्रमुख राजेन्द्र कँडेलले बताए। उनका अनुसार औद्योगिक क्षेत्रभित्रका उद्योगले दैनिक मुनाफा गर्ने करिब ३० करोड रुपैयाँ क्षति व्यहोरिरहेका छन्। सरकारलाई बुझाउने राजश्वलाई हेर्दा औसतमा एउटा उद्योगले मासिक ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गर्ने उनको भनाइ छ।

उनका अनुसार हाल सञ्चालनमा रहेका अधिकांश उद्योग पनि बिहान मात्र चलिरहेका छन्। ‘रातिको सिफ्टमा मजदुर आउजाउमा समस्या भएकाले बिहान र दिउँसोमा मात्र उद्योग सञ्चालन गर्न उद्योगी बाध्य भएका हुन्,’ उनले भने।

कोरोना भाइरस संक्रमणका कारण कच्चा पदार्थ आयात र बजारीकरणमा प्रभाव परेको भन्दै उद्योग संघ हेटौंडाका अध्यक्ष पोखरेलले सरकारले बैंकको ब्याज छुट तथा किस्ता तिर्ने मिति थप गर्नुपर्ने माग गरेका छन्। औद्योगिक क्षेत्रभित्र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर पनि भोकमरीको अवस्था सिर्जना भएसँगै घर फर्किएको श्रमिकहरूले बताएका छन्। दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका पर्सा, बारा, रौतहटलगायत तराईका अधिकांश मजदुर पैदलै घर फकिसकेका छन्। साभारः ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*