नेकपा मकवानपुरले भन्योः सबै बिमारीले सहज उपचार पाउन, किसानलाई मल र बिउको व्यवस्थापन गर

बाइलाइन नेपाल
२५ चैत्र २०७६, मंगलवार १५:५६

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको मंगलबार कार्यालय बैठक बसेको छ । बैठकपछि जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीद्वारा जारी विज्ञप्तीमा कोरोना भाइरसको त्रासको अवस्थामा अन्य रोगबाट बिमारी भएकाहरु उपचारबाट बञ्चित हुन नहुने उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ–’अहिले कोरोना भाइरसको त्रासका कारण अन्य बिरामीको उपचार नपाइरहेको गुनासो आएकाले अहिलेको समयमा कोही पनि उपचार पाउने अधिकारबाट बञ्चित हुन नपरोस भन्ने आग्रह पनि गर्न चाहन्छौं ।’

नेकपा मकवानपुरले राहत वितरण गर्दा वैज्ञानिक, व्यवस्थित ढंगले दुरी कायम गरेर मात्र वितरण गर्न अनुरोध गरेको छ । साथै अहिले खेती लगाउने समय भएकाले किसानलाई आवश्यक पर्ने रासायनिक मल, बीउ बिजन, खाद्य पदार्थ उपलब्ध गराउन स्थानीय तहले सहजीकरण गर्नका लागि विज्ञप्तीमा आग्रह गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले दुईसाता भन्दा बढीको लकडाउनमा घरमै बसेर सहयोग गर्ने सबै नागरिकलाई नेकपा मकवानपुरले धन्यवाद दिएको छ । साथै, आगामी दिनमा पनि लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गर्नका लागि विज्ञप्ती मार्फत् आग्रह गरिएको छ । यो कठिन अवस्थामा पनि अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीप्रति नेकपा मकवानपुरले धन्यवाद दिएको छ ।

विज्ञप्तीमा सरकारले घोषणा गरेको लकडाउन तेस्रो चरणमा प्रवेश गरेको छ भने दोस्रो चरणमा प्रवेश गरेको कोरोना भाइरस फैलन नदिन सबैले सहयोग गर्नका लागि आग्रह गरिएको छ । कोरोनाको सुरक्षाका लागि गुणस्तरीय सामाग्री यथाशिघ्र उपलब्ध गराउन तीनै तहका सरकारसंग नेकपाले अनुरोध गरेको छ ।

लकडाउनका कारण खान नपाएर कोही कसैलार्ई पनि समस्या हुन नदिन स्थानीय तहबाट एकद्वार प्रणाली मार्फत खाद्यान्न वितरण वितरण गर्नका लागि अनुरोध गर्दै लकडाउनको अवधिमा आफ्नो छरछिमेकमा हुनेले सहयोग गर्ने परिपार्टीको विकास गर्न आग्रह गरिएको छ ।

लकडाउनलाई पूर्ण रुपमा पालना गरौं, मितव्ययी बनौ, फारो तिनो गरेर खर्च गर्नुहुन सम्पूर्ण मकवानपुर जिल्लाबासीहरुमा यसै विज्ञप्ती मार्फत नेकपा मकवानपुरले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*