कोरोनाको प्रभावः अदालतको आदेशमा मकवानपुरका २० जेलमुक्त

बाइलाइन नेपाल
२५ चैत्र २०७६, मंगलवार १४:५०

हेटौंडा । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिमबाट बच्‍न र बचाउने उद्देश्यले थोरै कैद भुक्तान गर्न बाँकी रहेकालाई मकवानपुर जिल्ला अदालतले जेलमुक्त गर्न आदेश दिएको छ । उक्त आदेशअनुसार ७ बालकसहित १३ जनालाई जेलमुक्त गरिएका छन् ।

सवारी ज्यान र लागू औषधको बालबिज्याईमा रहेका ७ जना बालकलाई बाँकी कैद मिनाहा गर्ने गरी न्यायधीश दिल्लीरत्न श्रेष्ठको इजलाशले छोड्न आदेश दिएको श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए। बालक भएका कारणले उनीहरूलाई बाँकी रहेको कैदको रकम भुक्तानी गर्न पनि भनिएको छैन।

बहुविवाह गरेको ठहर गर्दै अदालतले एक वर्ष कैद र १५ हजार जरिवाना सजाय पाएका हेटौंडा उपमहानगरपालिका १८ का अजय स्याङतानलाई पनि अदालतले छोड्न आदेश दिएको थियो। उनी ३ महिना कैद भुक्तान गर्नु पहिल्यै जेलमुक्त भएका हुन्।

उनलाई ३ महिनाको २७ हजार र १५ हजार जरिवाना तिराएर जेलमुक्त गरिएको छ ।

त्यसैगरी हेटौडा उपमहानगरपालिका—१ का सुरज केशरी पनि जेलबाट मुक्त भएका छन। बालयौन दुराचारमा उनी जेल परेका थिए। कैद भुक्तानी गर्न एक महिना १९ दिनमात्र बाँकी थियो। बाँकी कैदको रकम तिरेर उनी जेलबाट छुटेका हुन। सवारी ज्यानलगायत विभिन्न मुद्दामा थोरै कैद भुक्तानी गर्न बाँकी रहेकाहरूलाई छोड्न आदेश दिएको अदालतले जनाएको छ ।

अदालतको आदेशमा यसरी छुट्ने कैदीबन्दीलाई कैदका साथै जरिवाना गरिएको छ भने जरिवाना बुझाएको हुनुपर्ने हुन्छ र बाँकी रहेका कैद भुक्तानीका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले राजस्व बुझाएको हुनुपर्छ।

विपद्को यस विशेष परिस्थितिमा कारागारमा रहने कैदीबन्दीको भीडभाड कम गर्ने प्रयोजनार्थ मुलुकी फौजदारी कार्य्विधि संहिता २०७४ को दफा १५५ अनुसारको कैदवापत रकम लिइ कैदबाट छोडी पाउन निवेदन परेमा रकम लिई कैदबाट छाडिदिन उपयुक्त देखिए न्यायाधीशको इजलासबाट आवश्यक आदेश गरी छोड्ने व्यवस्था गर्ने निर्णय गरेको थियो।

कैदवापतको जरिवाना रकम भुक्तानी गरी कैद छुट पाउन दैनिक ३ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने र त्यसरी कैद भुक्तानको सुविधा पाएका व्यक्ति तीन वर्षभित्र कैदको सजाय हुने कुनै कसुर गरेमा उसलाई पहिले भएको फैसला बमोजिमको कैद समेत थपि सजाय कार्यान्वयन गरिने व्यवस्था गरेको छ।

कोरोना भाइरसको संक्रमणको जोखिमका बेला कारागारको चाप व्यवस्थापन गर्न एक वर्ष भन्दा कम सजाय तोकी कारागारमा रहेका कैदीले कैदबापतको जरिवाना तिरी कैदमुक्त हुन चाहे सो बमोजिमको व्यवस्था गर्ने सर्वोच्च अदालतको निर्णय अनुसार मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारबाट अझै ३३ जना कैदी छुट्न सक्ने अवस्थामा छन्। साभारः ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*