प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङले तीन गाउँपालिकलाई सहयोग गर्ने

बाइलाइन नेपाल
१४ चैत्र २०७६, शुक्रबार १८:५४

कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि स्थानीय सरकारले गरिरहेको पहलमा बाग्मती प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङले सहयोगको घोषणा गरेका छन् ।

शुक्रबार विज्ञप्ती प्रकाशन गरी उनले चेपाङ जातिको बाक्लो बसोबास क्षेत्र रहेको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरिदिने घोषणा गरेका हुन् ।

तीनवटै गाउँपालिकाको कोषमा २० हजार रुपियाँको दरले रकम जम्मा गर्ने प्रतिबद्धता उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आफूले पाउँदै आएको पारिश्रमिक मध्ये डेढ महिनाको रकम कोरोना भाइरसको संक्रमण रोक्नका लागि खर्च गर्ने घोषणा गरिएको बाग्मती प्रदेशसभा सदस्य चेपाङले जानकारी दिए । उनी सातवटै प्रदेशका सांसदहरुमध्ये एक्लो चेपाङ सांसद हुनुहुन्छ ।

‘तीनैवटा गाउँपालिकाकाले स्थापना गरेको बिपद् व्यवस्थापन कोषमा जतिसक्दो चाँडो रकम जम्मा गरिदिनेछु’, सांसद चेपाङले भने । उनले विज्ञप्तीमार्फत रोग र भोकसँग लडिरहेको समुदायलाई सहयोग गर्न अन्य सरोकारवालाहरुलाई पनि आग्रह गरे ।

यसैबीच सांसद चेपाङले भारतबाट आउने नेपाली नागरिकहरु सीमाक्षेत्रमा अलपत्र परेकोप्रति चासो ब्यक्त गर्दै अभिलम्ब उनीहरुको उद्धार हुनुपर्ने र क्वारेन्टाइनमा राखिनुपर्ने भन्दै सरकारसँग माग गर्नु भएको छ ।

सांसद चेपाङ नेपाली काँग्रेसबाट समानुपातिकतर्फ सांसद बन्ने मकवानपुरका एक्ला व्यक्ति हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*