यि हुन ‘हिरा’ लुट्न मकवानपुरको कैलाश आएका प्रहरी र पत्रकार

बाइलाइन नेपाल
१० चैत्र २०७६, सोमबार १५:५८

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–५ चौकीटारमा हिरा जस्तो देखिने पत्थर लुटेर भाग्दै गरेका चार जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर भैसेपाटी बस्ने बर्ष–१९ को सुजन आचार्य, सुर्खेत बीरेन्द्र नगर नगरपालिका–१२ बस्ने बर्ष २६ को सुरेन्द्र बसेल, जाजरकोट शिवालय गाउँपालिका–२ बस्ने बर्ष २७ को बीरबहादुर बस्नेत र दङ सिजुवा गाउँपालिका–१ बस्ने बर्ष २८ को हिमाकान्त पुन मगर रहेका छन् ।

उनिहरुले चैत ९ गते साँझ ५ बजेको समयमा मकवानपुरको कैलाश गाउँपालिका–५ चौकिटार गोगने बस्ने बर्ष ७० की धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा जस्तो देखिने सेतो टल्किने पथर खरिद गर्ने बाहानामा गई मोलतोल गरेको जस्तो गरी पेस्तोल देखाई धम्काई उक्त हिरा जस्तो देखिने सेतो टल्किने पथर लुटी फरार भएको जनाइएको छ ।

उक्त घटनाको खबर इलाका प्रहरी कार्यालय पालुङलाई भएपछि पालुङबाट प्रहरी निरीक्षक बिकाश कुमार तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले उनिहरुलाई थाहा नगरपालिका–३ थानाबजारबाट पक्राउ गरेको हो । उनिहरुलाई प्र.३–०१–०१–००२२ च ३३६२ नम्बरकबो कार सहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए । उनिहरुको साथबाट हिरा जस्तो देखिने टल्किने सेतो पत्थर पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये बसेल, बस्नेत र मगर महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी भएको जनाइएको छ । बसेल प्रहरी सहायक निरीक्षक रहेको र अरु दुई जना जवान रहेको उल्लेख छ । आचार्य भने पत्रकार रहेको उल्लेख छ तर उन कुन सञ्चारमाध्यममा आवद्ध हुन भन्ने पत्ता लागेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले उनिहरुको साथबाट लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको जनाएको छ ।
पक्राउ परेकाहरुलाई चोरी तथा डाँका मुद्धा अन्तरगत अनुसन्धान अघि बढाइएको मकवानपुरका प्रहरी उपरिक्षक सुसिल सिंह राठोरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*