हेटौँडाका सरकारी कार्यालयमा सेवाप्रवाह बन्द

बाइलाइन नेपाल
९ चैत्र २०७६, आईतवार २१:५३

मकवानपुरका सरकारी कार्यालयहरू आज आइतबारदेखि बन्द भएका छन् । हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय, मालपोत, हेटौँडा उपमहानगरपालिकासहित सबै कार्यालयहरूले सेवाप्रवाह बन्द गरेका हुन् ।

कार्यालय बन्द हुने सूचना नपाएर जिल्लाका विकट क्षेत्रबाट सेवा लिन आएका सेवाग्राहीहरू रित्तो हात फर्किनुपरेको छ ।

बिहान करिब साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा काम लिएर आएका १० जना सेवाग्राहीलाई सुरक्षार्थ खटिएका प्रहरीहरूले फर्काइदिएका छन् ।

सरकारले ९ चैतदेखि अत्यावश्यक सेवाबाहेकका सरकारी तथा निजी कार्यालयहरू बन्द गर्ने घोषणा गरेको थियो ।

‘हामीलाई कार्यालय बन्द भएको थाहै थिएन । बिहान ५ बजेर उठेर घरबाट हिँडेको बन्द पो रहेछ,’ बागमती गाउँपालिकाकी सुनमाया पाख्रिनले भनिन्, ‘खर्च मात्रै भयो । यति टाढाबाट आउनुपर्छ, जानकारी त पहिल्यै दिनुपर्छ नि !’

फापरबारीबाट हेटौँडा आउन करिब २ घण्टा बसमा यात्रा गर्नुपर्छ । नागरिकता, पासपोर्टलगायतका काम लिएर आएका सेवाग्राहीलाई प्रशासनले २२ चैतपछि मात्रै आउन सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै २१ चैतसम्म जिल्लास्थित अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि कार्यालय बन्द गर्नुपरेको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*