कोरोनाले उडायो होलीको उमङ्ग, होली खेल्ने न्यून

बाइलाइन नेपाल
२६ फाल्गुन २०७६, सोमबार १५:३१
फाइल तस्वीर

हेटौंडा । विगतका वर्ष होलीको अघिल्लो दिन बजारमा रंग, पिचकारी, लोला र होलीका लागि कपडा खरिद गर्नेको भिड लाग्ने गथ्र्यो तर यसवर्ष बजारमा होलीका सामान बिक्रीका लागि राखिएपनि किन्नेहरु छैनन् । चीनबाट सुरु भएर विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण सरकारले नै होली मनाउन रोक लगाएपछि यसवर्ष बजारमा चहलपहल नै छैन ।

आज पहाडी जिल्लामा होली मनाइदै छ । तर सुनसान छ । अघिल्ला वर्ष बिहानैबाटै समूहसमूहमा होली खेल्नेको भिड गाउँदेखि सहरसम्म देखिन्थे तर आज गाउँदेखि सहरसम्म होलीको उमङ्ग छैन । होली आउनुभन्दा हए हप्ता अगाडिबाट होली मिलनका कार्यक्रम विभिन्न संघसंस्थाले आयोजना गर्ने गरेका थिए । यसवर्ष मकवानपुरमा एउटा पनि होली कार्यक्रम भएको खबर बाहिर आएका छैनन् ।

प्रत्येक वर्ष होली मिलन गदै आएको पत्रकार महासंघ मकवानपुर शाखाले पनि होलीको कार्यक्रम आयोजना गरेन् । हेटौंडाका विभिन्न सञ्चारगृहले अघिल्ला वर्ष होलीमा विशेष कार्यक्रमको आयोजना गर्ने गरेका थिए । यसवर्ष तुखबर डटकमले होलीको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि होली नखेल्न आग्रह गरेको छ । कोरोनाको प्रकोप रहेको अवस्थामा रंग तथा पानीका कारण संक्रमण हुन सक्ने भन्दै होली नखेल्न आग्रह गरेको थियो । त्यसैलाई ध्यान दिंदै मकवानपुरका राजनीतिक दल, सामाजिक संघसंस्थाले होलीका कार्यक्रम आयोजना गरेनन् ।

विगतका वर्षहरुमा होली आउनु केही दिनअघि देखि नै बजारमा चहलपहल हुन्थ्यो भने कार्यालय, स्कुल, क्याम्पस लगायतका स्थानमा होली खेल्न शुरु भइसक्थ्यो ।तर अहिले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मानिसहरुले सतर्कता अपनाएको देखिन्छ । सरकारले भीडभाड, सभा समारोहमा नजान आग्रह गरेसँगै यसवर्ष कतिपयले घरमै खेलेका छन् ।

कोरानाका कारण सरकारले होली माथि नै प्रतिबन्ध लगाएपछि यसको मारमा व्यवसायी परेका छन् । कोरोनाका कारण सर्वसाधारणले होली नखेले पछि व्यवसायीको होलीका सामान बिक्री भएनन् । बिक्रीका लागि ल्याइएको रङ्ग आगामी तिहारका लागि बिक्री गर्ने व्यवसायीले बताएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सरकारले पूर्व सावधानी अपनाउन आग्रह गरेको छ । गृह मन्त्रालयले बढी भीडभाड हुने सभा, सम्मेलन, कार्यक्रममा कोरोना भाइरसको जोखिम हुने भएकाले हाल यस्ता कार्यक्रम नगर्न आग्रह गरिसकेको छ ।

भीडभाडमा जम्मा हुने, लोला हान्ने, रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले उक्त कार्य नगर्न र नगराउनसमेत सरकारले अनुरोध गरेको छ ।
भीडभाडमा जाँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले सावधानी अपनाउन सर्वसाधरणलाई अनुरोध गरेसँगै यसपालीको होली कोरोनाले फिक्का बनाएको युवाहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*