बाबुदेखि पतिसम्मको हिंसा खेपेकी अस्मिताको यस्तो छ संघर्षको कथा

बाइलाइन नेपाल
२६ फाल्गुन २०७६, सोमबार १२:१२

जन्मेदेखि निरन्तर हिंसा खेपेकी संघर्षशील नारी हुन्, अस्मिता तामाङ । जन्मघरको हिंसा छिचोल्दै अघि बढेकी अस्मिताले कर्मघरमा पनि हिंसाको सामना गरिन् । धर्तीमा पाइला टेक्नासाथ छोरी भएकै कारण आफ्नै बुबाले गरेका अपमान सम्झिँदा अहिले पनि उनी मन थाम्न सक्दिनन् । ‘छोरी भएकै कारण चार महिनाको छँदा बुबाले घर नै छाडेर जानुभयो,’ उनले भनिन्, ‘मेरो अनुहार नै नहेरी अर्को विवाह गरेर भारत पलायन हुनुभयो ।’

बुबाको माया कस्तो हुन्छ भन्ने अड्कलसमेत गर्न नसकेको उनी बताउँछिन् । आमाको माया र दुःखको कमाइले हुर्किएकी उनले कक्षा ४ पछि औपचारिक शिक्षामा बिट मारिन् । कारण थियो– आमालाई अल्सर । अस्मिता सम्झिन्छिन्, ‘१२ वर्षको हुँदा आमालाई अल्सर भएपछि खानसमेत धौ–धौ भयो, त्यसपछि गलैँचा कारखानामा काम सुरु गरेँ ।’

कारखानामा पनि उनले हिंसाको सामाना गर्नुप-यो । रकम नदिने, धेरै काम लगाउने र पिट्नेजस्ता शोषण खेप्नुपरेको उनी स्मरण गर्छिन् । ‘दर्जनौँपटक शोषण गर्न खोजियो,’ उनले भक्कानिँदै भनिन्, ‘मानव रहरले जोखिममा पर्दैनन्, बाध्यताले भोग्छन् ।’ गलैैँचा कारखानाबाट उद्धारपछि परिवारसँग पुनर्मिलनसँगै एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा उनले पुनः पढ्ने मौका पाइन् । पढेर सक्षम बन्ने र रोजगारी पाउने सपना बोकेकी अस्मिताको पढाइ एसएलसीपछि फेरि रोकियो ।

पतिबाटै यौन हिंसा

उच्च शिक्षा पढाउने आश्वासन बाँडेका एक पुरुषसँग अस्मिता वैवाहिक सम्बन्धमा गाँसिइन् । साक्षर व्यक्तिसँग विवाह गरेकी उनले उच्च शिक्षा हासिल गर्ने सपना बुनेकी थिइन् । तर, सपना साकार हुन सकेन । एक सन्तानको आमा भएपछि दर्जनौँपटक पतिबाट यातना खेप्नुपरेको दुःखेसो उनले सुनाइन् । ‘मैले पतिबाट कुटपिट र यातना मात्र खेपेकी छैन,’ उनी भन्छिन्, ‘पटक–पटक यौन हिंसा भेगेकी छु ।’ शंकाकै भरमा पटक–पटक हिंसा खेपेकी अस्मिता जन्मथलो नुवाकोट फर्केर मानव बेचबिखनविरुद्धको संस्थामा काम गर्न थालिन् । तर, विडम्बना आफ्नै श्रीमान्बाट पटक–पटकको अपमान र हिंसा रोकिएन । दोस्रो छोरी जन्मेपछि उनले सम्बन्ध–विच्छेदको बाटो रोजिन् ।

हिंसाविरुद्धको अभियानकर्ता

हिंसा छिचोल्दै जीविकोपार्जन गर्दै आएकी अस्मिताले पेसागत रूपमै हिंसाविरुद्धको अभियन्ता बन्ने निधो गरिन् । उनी हिंसाविरुद्धको गैरसरकारी संस्था शान्ति फाउन्डेसन मकवानपुर जिल्ला अधिकृत एवं स्रोतव्यक्तिका रूपमा कार्यरत छिन् । एक दशकदेखि हिंसाविरुद्धको अभियन्ताका रूपमा सक्रिय अस्मिता अरू जो–कोही पनि मानव बेचबिखन वा हिंसामा प्रभावित भएको खबर सुन्नासाथ आफ्नो पीडा सम्झेर लागिपर्छिन् । एकल भएकै कारण घरबहालमा बस्दाको हेपाइ र अपमान, समाजले हेर्ने दृष्टिकोणमा नकरात्मक प्रभाव हुने गरेको उनको अनुभव छ । निरन्तर संघर्ष गर्दै अघि बढेकी अस्मिता मकवानपुर बहुमुखी क्याम्पसमा स्नातकोत्तर दोस्रो सेमिस्टरमा अध्ययनरत छिन् । साभारः नयाँ पत्रिका दैनिकमा सुदीप सिवाकोटीले लेखेको समाचार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*