मकवानपुरमा होली खेल्न प्रशासनले लगायो रोक

बाइलाइन नेपाल
२३ फाल्गुन २०७६, शुक्रबार १८:१९

हेटौंडा । जिल्ला प्रशासन कार्यालयले मकवानपुरमा होली खेल्न रोक लगाएको छ । प्रशासनले शुक्रबार सूचना जारी गर्दै होली खेल्ने क्रममा हुने भीडभाडको कारण कोरोनाको जोखिम बढ्न सक्ने भन्दै प्रशासनले होली खेल्न रोक लगाएको हो ।

होलीका लागि हुने जमघटले कोरोनाको जोखिम बढाउन सक्ने भएकाले होलीको कार्यक्रम आयोजना नगर्न र त्यसमा सहभागी नहुन प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा होलीका कार्यक्रम आयोजना नगर्न सबै जिल्लावासीलाई आग्रह गरिएको छ ।

बिहीवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले जिल्लामा सभा, समेल्लन तथा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएको थियो । कोरोना भइरसको संक्रमणलाई मध्यनजर गर्दै जनमानसमा यसको संक्रमण फैलिन नदिनको लागि भीडभाडमा नजान पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक समयमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने गरी तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*