पाँच महिनापछि थानकोट–चित्लाङ सडक सुचारु

बाइलाइन नेपाल
२० फाल्गुन २०७६, मंगलवार १५:१५

थानकोट–चित्लाङ सडक (गणेश मान सिंह मार्ग) सुचारु भएको छ । सडक निर्माणका क्रममा दशैंतिहारदेखि बन्द रहेको सडक सुचारु भएको हो ।

थानकोट– चित्लाङ सडक खण्डमा तीनदिन देखि राम्रोसँग सवारी साधन ओहोरदोहोर गरिरहेको स्थानीय सन्तोष लामाले जानकारी दिए । उनका अनुसार एक साता अघिदेखि नै बिहान बेलुका सवारी आवागमनका लागि बाटो खुलाइएको थियो ।

‘तीन चार दिन बिहान बेलुका मात्रै सवारी आउन दिइएको थियो, अहिले जुनसुकै बेला सानोदेखि ठूला सवारी आउने जाने गरिरहेका छन्,’ उनले भने, ‘चित्लाङ पौवाबाट मोटरसाइकलमा ३५ मिनेटमा थानकोट पुगिरहेका छौं ।’

०७६ मंसिरसम्म काम सम्पन्न गर्ने भनी प्रतिबद्धता जनाएको ठेकेदारले काम नसकाउँदा चित्लाङ र आसपासका बासिन्दाले सास्ती खेप्दै आएका थिए । राजधानी काठमाडौंबाट १२ किलोमिटरको दुरीमा पर्यटकीय गाउँ चित्लाङ छ । सडक नबन्दा काठमाडौं जानका लागि चखेल, फाखेल वा त्रिभुवन राजपथको लामो दुरी पार गर्नु पर्ने बाध्यता थियो ।

थानकोट–चित्लाङ सडक नबन्दा चित्लाङ घुम्न जाने पर्यटकलाई अप्ठेरोमा पर्नुको साथै चित्लाङ र आसपासका गाउँमा उत्पादित तरकारी बजारमा लैजान समेत सास्ती हुँदै आएको छ । सडक निर्माणमा ठेकेदारले लापरबाही गरेको भन्दै स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् ।

थानकोट चित्लाङ सडक आयोजनाको कार्यालयले विभिन्न खण्डमा सडक खण्डमा काम लगाएको छ । पीएसरकिराँतेश्वर जेभीले कटानको काममा ढिलाई गर्दा आफूहरुले सास्ती भोग्नु परेको गुनासो स्थानीयले गर्दै आएका छन् । साभारः अनलाइनखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*