टिस्टुङको बागेश्वरी माविका ५ शिक्षकले किन दिए सामुहिक राजीनामा ?

बाइलाइन नेपाल
१७ फाल्गुन २०७६, शनिबार १७:११

हेटौंडा । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका–११ टिष्टुङमा रहेको बागेश्वरी माध्यमिक विद्यालयमा कार्यरत निजी श्रोतका ५ जना शिक्षकले पारिश्रमिक थोरै भएको भन्दै सामुहिक राजीनामा दिएपछि पठनपाठनमा असर परेको छ ।

शिशु कक्षादेखि १० कक्षासम्म पढाई हुने सो विद्यालयमा थाहा नगरपालिका वडा नम्बर ११ र १२ का गरी करिब ५ सय ८० जना विद्यार्थीहरु आउने गरेका छन् । अध्ययन गर्न आउन–जान दैनिक ६ घण्टासम्म विद्यार्थीहरु हिडेर आउने गरेका छन्, भने शिक्षकहरुले राजीनामा दिएपछि कक्षा कोठा खाली हुने विद्यार्थीहरुको गुनासो छ ।

तर, शिक्षकहरुले राजीनामा दिएपनि कक्षा सञ्चालन हुने गरेको प्रधानाध्यापक वीरमान स्याङ्तानको दाबी छ । प्रधानाध्यापकको भनाइलाई विद्यार्थीहरुले झुटो सावित गरिदिएका छन् । विद्यार्थीहरुका अनुसार कक्षा कोठा खाली हुने गरेको र शिक्षक नभएको गुनासो गरेका छन् ।

व्यवस्थापन समितिका अध्यक्षमा सोही वडाका वडाध्यक्ष किरणमान बल रहेको सो विद्यालयका शिक्षकले गत माघ अन्तिममा राजीनामा दिएका उनीहरुको स्थानमा वैकल्पिक व्यवस्था नहुँदै सोही दिन नै राजीनामा स्वीकृत गरिएको छ ।

राजीनामापछि दैनिक ३० घण्टी खाली हुने गरेको छ । आउँदो चैतमा कक्षा ८ को जिल्ला स्तरीय परीक्षा, एसइइ परीक्षा परेकोले पढाउने शिक्षक नै नभएपछि आफ्नो परीक्षा बिग्रिने चिन्तामा विद्यार्थीहरु देखिएका छन् ।

सरकारले सामुदायिक विद्यालयलाई निशुल्क अध्ययन गर्न पाउने कानूनी प्रावधान राखेको छ । तर, सो विद्यालयले निजी बोर्डिङले जस्तो भर्ना शुल्क वापत १ हजार रुपैयाँ र मासिक शुल्क पनि लिने गरेको छ ।

सो शुल्क बापत बार्षिक १२ देखि १५ लाख रुपैयाँ हुने गरेको र उठाईएको शुल्क निजी श्रोतका शिक्षकहरुको पारिश्रमिकमा खर्च हुने गरेको प्रधानाध्यापक वीरमान स्याङ्तानको दाबी छ ।

तर, निजी श्रोतका शिक्षकहरुले प्राथमिक शिक्षकले मासिक ६ हजार रुपैयाँ, निमाविले १५ हजार रुपैयाँ र माविले १७ हजार रुपैयाँ मात्रै पारिश्रमिक पाउँदै आएका छन् ।

निजी श्रोतका ५ जना शिक्षकलाई विद्यालयले बार्षिक साढे ७ लाख रुपैयाँ पारिश्रमिक वापत दिदै आएको छ । तर, विद्यार्थीहरुबाट उठाइएको शुल्क मात्रै १२ देखि १५ लाखसम्म हुने गरेको छ ।

यस सम्बन्धमा थाहा नगरपालिकाका मेयर लवशेर विष्टले आफूले सामुहिक राजीनामा बारे सुनेको र समस्या समाधानको प्रयास गरिने जानकारी दिए । साभारः न्यूज 24  बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*