बकैया साहित्य महोत्सव शुक्रबारबाट सुरू

बाइलाइन नेपाल
१६ फाल्गुन २०७६, शुक्रबार २१:५३

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबारबाट बकैया साहित्य महोत्सव सुरु भएको छ । झरना साहित्यिक परिवारको आयोजनामा सुरु भएको महोत्सवको पहिलो दिन शुक्रबार छन्द कविता प्रशिक्षण, भित्ते पत्रिका लेखन तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

शुक्रबारको पहिलो सत्र अन्तरगत बकैया गाउँपालिका अन्तर्गतका सम्पूर्ण माध्यमिक तथा आधारभूत विद्यालयका १५ जना नेपाली विषय शिक्षकहरुलाई छन्द कविता प्रशिक्षण दिइएको छ । प्रशिक्षणको सहजीकरण परिचित प्रगतिशील लेखक संघ मकवानपुरका निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्यले सहजीकरण गरेका थिए ।

एकैसाथ चलेको अर्को सत्रमा बकैया गाउँपालिकाका १० विद्यालयका ५ दर्जनभन्दा बढी विद्यार्थीहरूका लागि पठन संस्कृति विकास तथा भित्तेपत्रिका लेखन कार्यशाला आयोजना गरिएको छ । यस सत्रको सहजीकरण बाल उदय मासिकका सम्पादक नरेन्द्र कुमार नगरकोटी, झरनाका अध्यक्ष दीपक गौतम र उपाध्यक्ष विश्वनाथ सञ्जेलले संयुक्त रुपमा गरेका थिए ।

बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेको प्रमुख आतिथ्यमा सम्पन्न औपचारिक कार्यक्रममा बकैया–४ का वडाध्यक्ष राजन दङ्गाल र झरनाका निवर्तमान अध्यक्ष उद्दव सापकोटा विशिष्ट अतिथिका रुपमा रहेका थिए ।

महोत्सवको दोस्रो दिन शनिबार स्रष्टा सम्मान र रचना वाचन कार्यक्रमका साथमा दुइवटा विषयमा अन्तरक्रिया कार्यक्रम रहनेछन् । जस अनुसार, ुकला साहित्यको विकासमा स्थानीय तहको भूमिकाु तथा ु नेपाली साहित्यमा मकवानपुरु विषयका छुट्टाछुट्टै अन्तरक्रिया हुनेछन् ।

शनिबार साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालसहित ६ जनालाई विभिन्न सम्मान विभिन्न सम्मानको कार्यक्रम रहेको छ । साहित्यकार तथा पत्रकार लम्साललाई होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७६ र विनोदविक्रम केसीलाई खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७६ प्रदान गरिने भएको छ ।
त्यसैगरी, कवि विना थिङ तामाङलाई सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०७६ र साहित्यसेवी मुक्तिगोविन्द वैद्यलाई सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७६ प्रदान गरिनेछ । यसवर्ष झरना बकैया पत्रकार सम्मान मकवानपुरमा लामो समयदेखि क्रियाशील पत्रकार प्रताप विष्टलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७६ व्यङ्ग्यकार रामचन्द्र आचार्य ‘फुर्सती’लाई प्रदान गरिने आयोजक संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिए । महोत्सवमा करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*