यसरी बन्यो मनहरी बालमैत्री स्थानीय शासन अवलम्वन गर्ने गाउँपालिका

एकराज उप्रेती
२६ पुष २०७६, शनिबार १७:५५

हामी मुलुकमै एउटा छुट्टै इतिहाँस बनाउने क्षणमा उभिएका छौँ । मुलुकभर रहेको ४६० वटा गाउँपालिकामध्ये बालमैत्री स्थानीय शासन अवलम्वन गर्ने गाउँपालिकाको रुपमा हामी सबैभन्दा पहिलो लहरमा उभिँदैछौँ । २०७६ साल पुस २८ गते हुने घोषणापछि हामी देशकै पहिलो गाउँपालिका बन्दैछौँ । यो खुसीको कुरा यहाँहरुमाझ बाँड्न पाउँदा हामीलाई अत्यन्त खुसी र गौरवान्वित छौँ ।
हामीले बालमैत्री घोषणाका लागि गरेका पहलहरु
–२०७५ बैशाख २४ र २५ गते गाउँपालिकाको आयोजनामा राष्ट्रिय सहजकर्ता बिष्णुप्रसाद चौबेबाट बालमैत्री स्थानीय शासन अवलम्वन पद्धतिबारे अभिमुखीकरण ।
– २०७५ साल जेठ महिनामा बालमैत्री स्थानीय शासन अवलम्वन सम्बन्धमा कार्यपालिका बैठकद्वारा निर्णय पारित गरी गाउँसभामा पठाउने निर्णय
–२०७५ असार २५ गतेको गाउँसभाद्वारा बालमैत्री स्थानीय शासन पद्धति अनुसरण कार्यान्वयन गर्ने निर्णय गरी बजेट तथा कार्यक्रम पारित ।
–२०७५ भदौ महिनामा ९ वटै वडामा बालमैत्री सहजकर्ताहरु राखेर वडातहमा बालमैत्री स्थानीय शासनसम्बन्धी सफ्टवेयर र हार्डवेयरका काम सुरु ।
–त्यसपछि लगातार रुपमा बालमैत्री स्थानीय शासन पद्धटि अवलम्वनका लागि सञ्जालहरु निर्माण । जस्तै वडा बाल सञ्जाल, गाउँ बाल सञ्जाल, गाउँ बाल अधिकार समिति, टास्क फोर्स समिति, पालिकास्तरीय बालमैत्री स्थानीय शासन समिति गठन । टोल विकास संस्थाहरु आदि ।
–गाउँपालिकास्तरीय अन्तर धार्मिक सञ्जाल गठन गरी बाल विवाह, बाल श्रम, घरेलु हिंसा, लैंगिक हिंसा, मानव बेचबिखन, टोल विकास संस्था, महिला सहकारी, विद्यालयमा नियमित रुपमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन ।
–२०७५ साल मंसीरमा बालमैत्री सहजकर्ताद्वारा घरधुरी सर्वेक्षण हुँदा निकृष्ट बाल श्रमिकहरु १२२३ जना फेला ।
–२०७६ जेठ महिनामा फेरि दोस्रो चरणको सर्वेक्षण हुँदा निकृष्ट बालश्रम गर्नेको संख्या ४६६ फेला । (अघिल्लो भन्दा घटेको)
–२०७६ मंसीरमा अन्तिम सर्वेक्षण हुँदा निकृष्ट श्रम गर्ने बालबालिका जम्मा १९४ जना (१.५७ प्रतिशत) मात्र रहेको । त्यो पनि गाउँपालिकाभन्दा बाहिर क्षेत्रमा नारायणगढ, काठमाडौं, जनकपुर आदि क्षेत्रमा ।
–बाल विवाह २०७६ जेठमा तीन बर्षको अबधिमा ५१० जनाको बाल विवाह भएको थियो । २०७६ मंसीरमा ११ जना भेटियो । बदर गरियो ।
–आर्थिक बर्ष २०७५÷७६ मा ९०५ जना गर्भवती महिला थिए । तीमध्ये ४ पटक गर्भजाँच गराउनेको संख्या ८५८ जना । २२५ वटा आइरन चक्की खानेको संख्या ८१५ थिए । दक्ष जनशक्तिबाट सुत्केरी गराउनेको संख्या ८१५ जना थिए ।
–पछिल्लो तथ्यांक अनुसार मनहरी गाउपालिकामा ८६५५ घरधुरीमा ४६८५३ जना मानिस रहेका छन् । तीमध्ये १५७३९ बालबालिका छन् । (बालक ८११६, बालिका ७६२३) महिलाको संख्याः १५०६९, पुरुष १६०३५ जना रहेको छ ।
–कूल ८६५५ घरधुुरीमध्ये स्वच्छ पिउने पानी व्यवस्था सबैमा छ । साबुन पानीले हात धुने व्यवस्था ८१२६ घरधुरीमा छ । ८०६२ घरमा शौचालय रहेको छ । केही विद्यालयहरुमा पिउने पानी जाँच गर्दा सुधार गर्नुपर्ने तथ्यांक आएका छन् । सोही अनुसार सुधारको प्रयास भइहेको छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८, नेपालको संविधान २०७२ को मौलिक हक, बालबालिका ऐन २०७५, स्थानीय सरकार संचालन ऐन २०७४ मा बालबालिका केन्द्रित कानूनी व्यवस्थालाई अवलम्बन गरी यो बालमैत्री स्थानीय शासन अवलम्बवनको अभियान चलाइएको छ ।

उल्लेखित क्रियाकलाप र तथ्यहरुलाई समेत आधार मानी बालमैत्री स्थानीय शासन अवलम्वनका लागि पूरा गर्नुपर्ने ३९ वटा सूचकहरु पूरा गरी जिल्ला समन्वय समितिबाट अनुगमन गराएर प्रमाणित गराएर हामी पुस २८ गते बालमैत्री स्थानीय शासन अवलम्बनको घोषणा गर्दैछौँ । उक्त समारोह मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको चौरमा आयोजना हुनेछ ।

त्यस दिन समारोहलाई भब्य बनाउन र सबैको सहभागिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले सार्बजनिक विदा दिने निर्णय गरेको छ । समारोहमा प्रमुख अतिथिको रुपमा रुपमा उपप्रधान तथा रक्षामन्त्री माननीय इश्वर पोखरेलसहित मुख्यमन्त्री, प्रतिनिधिसभा सदस्यहरु, राष्ट्रिय सभा सदस्यहरु, प्रदेशका मन्त्रीज्यूहरु तथा अन्य सरोकारवाला निकायहरुबाट सहभागिता हुनेछ । घोषणा सभामा गायक मिलन लामा र हास्यव्यंग्य विधाका राजा राजेन्द्र आउने कार्यक्रमा छ ।

अन्तमा यो ऐतिहाँसिक काम गर्ने र यसलाई अझ उचाईमा पु¥याउनका लागि मनहरी गाउँपालिका मात्रै जिम्मेवार छैन । यो कार्यमा सञ्चारजगतको योगदानलाई गाउँपालिकाले बिर्सने छैन । आगामी दिनमा पनि सञ्चार क्षेत्र र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय रुपमा गर्व गर्न लायक यस कार्यको प्रचारप्रसार कार्यमा महत्वपूर्ण भूमिका खेलिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । साथै आलोचनात्मक सुझावको पनि सदैव अपेक्षा गर्दछौ ।
(मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले शनिबार मनहरी आयोजित पत्रकार सम्मेलनमा व्यक्त गरेका विचार)

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु