हेटौंडालाई स्थायी राजधानी बनाउने विषयमा किन ‘यू टर्न’ भए इन्द्र बानियाँ ?

ध्रुव अधिकारी
२२ पुष २०७६, मंगलवार २०:५२

हेटौंडा । मकवानपुरमा कम्युनिष्ट जनाधारलाई चुनौती दिंदै लगातार सांसदमा विजयी भइरहेका नेपाली कांग्रेस मकवानपुरका सभापति तथा कांग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्र बानियाँ यो साता चर्चामा रहे । नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती राख्ने निर्णय गरेपछि कांग्रेसले पनि त्यसमा चासो देखायो ।

नेकपा सचिवालयको निर्णयलाई नेता बानियाँले स्वागत गर्दै विभिन्न सञ्चार माध्यममा प्रतिक्रिया दिए । त्यससँगै बानियाँको पनि चर्चा सुरु भएको हो । उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको अस्थायी राजधानीलाई नै नेकपाले स्थायी बनाउने निर्णय गरेको भन्दै स्वागत गरेका थिए । उनको प्रतिक्रियालाई लिएर मकवानपुरवासी पनि उत्साहित भएका थिए । बानियाँले पनि हेटौंडा नै राजधानी हुनुपर्छ भन्दै प्रतिक्रिया दिएपछि मकवानपुरवासी ढुक्क भएका थिए ।

पुस १८ गते शुक्रबार काठमाडौंमा बसेको कांग्रेस प्रदेश ३ को संसदीय दलको बैठकले गरेको निर्णयले बानियाँलाई मकवानपुरवासीलाई असन्तुष्ट बनायो । दुई दिन अघि नेकपाको निर्णयको स्वागत गरेका बानियाँले दलको बैठकमा खेदपूर्ण भन्दै निर्णय गराए । त्यसपछि मकवानपुरमा नेता बानियाँ हेटौंडालाइए राजधानी नबनाउने पक्षमा उभिएको भन्दै आलोचना हुन सुरुभयो । जब बानियाँको अध्यक्षतामा बसेको बैठकले नेकपाले संविधानको मर्म र भावना विपरित संसदीय दललाई निर्देशन दिनु खेदपूर्ण भएको उल्लेख गर्दै प्रदेशको अधिकार प्रदेशसभाले नै प्रयोग गर्न पाउनुपर्ने निर्णय गरेको थियो ।

त्यो निर्णयलाई बानियाँ हेटौंडाको विरुद्धमा रहेको भन्दै चौतर्फी फैलियो र उनको विरोध हुन थाल्यो । बानियाँले राजधानी हेटौंडामा राख्न निर्णय नगरेको भन्दै चोकचोकमा चर्चा चल्न थालेपछि कांग्रेसका जिल्ला नेताहरुले यसको सामना गर्न बाध्य भए । नेकपाले राजधानी र नामको विषयमा स्पष्ट धारणा बनाउँदा पनि कांग्रेसले द्वैध चरित्र देखाएको भन्दै मकवानपुरमा बानियाँप्रति असन्तुष्टि बढ्दै गयो । नेकपाले पनि यसलाई मसलाको रुपमा प्रयोग गरी बानियाँको निर्णय हेटौंडा विरुद्ध रहेको चोकचौतारोमा बहस नै चलायो ।

जब बानियाँले हेटौंडाको विकल्प छैन भने

काठमाडांैमा गरेको निर्णयले मकवानपुरवासी असन्तुष्ट भएको थाहा पाएका बानियाँले त्यसलाई चिर्न प्रदेशसभालाई उपयोग गरे । आफु हेटौंडा राजधानी बनाउने विषयमा सकारात्मक रहेको पुष्टि गर्न उनले प्रदेशसभाको पाँचौ अधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा व्यक्त गरे । जनमतमा परेको प्रभाव राम्रोसँग थाहा पाएका नेता बानियाँले प्रदेशसभामा बोल्ने क्रममा पटकपटक प्रदेश ३ को स्थायी राजधानी मा हेटौंडाको विकल्प नभएको बताए ।

दलमा गरेको बैठकले गलत सन्देश गएपछि बानियाँले छलफल नै नगरी बैठकमा सामरिक दृष्ट्रिकोण, हिजोको नेतृत्वले अस्थायी राजधानी तोक्दा देखाएको दुरदर्शीतालाई बुझ्दै हेटौंडालाई राजधानी बनाउनुको विकल्प नभएको उल्लेख गरे । राष्ट्रिय स्वधिनता, अखण्डता र संघीयता बलियो बनाउनका लागि पनि हेटौंडाको विकल्प नखोज्न सांसदहरुलाई आग्रह गरे । उनले फरक मत राख्ने अधिकार भएपनि मत प्रकट गर्दा हिजोको निर्णय र दीर्घकाललाई हेरेर गर्नुपर्ने बताए ।

संसदीय दलको बैठकमा राजधानीको विषयमा कांग्रेसले सांसदलाई ह्वीप नलगाउने निर्णय गरेका बानियाँले प्रदेशसभा बैठकमा भने पार्टीले ह्वीप लगाउन सक्ने बताए । उनले दलिय पद्दतीमा दलले आफ्ना सांसदलाई ह्वीप लगाउन सक्ने उल्लेख गर्दै त्यसलाई सांसदहरुले मान्नु पर्ने बताए । प्रदेशसभामा एकाएक बानियाँमा आएको ‘यू टन’ देखेर कांग्रेसका सांसदहरु नै अचम्ममा परेका थिए । तर उनले आफु माथि लागेको आरोप र भ्रमलाई एकसाथ चिर्ने कोशिस गरे । यो उनको रहर नभएर बाध्यता हो । अब हुने निर्णयक मतमा बानियाँले कांग्रेसको मत हेटौंडाको पक्षमा ल्याउछन कि ल्याउँदैनन हेर्न बाँकी छ ।

प्रदेशसभामा मै बानियाँ माथि वैधको ‘आक्रमण’

प्रदेशसभामा आफ्ना संसदीय दलका नेताले राजधानीका विषयमा दिएको अभिव्यक्तिले केही सांसदहरु आगो भएका थिए । त्यसै मध्येका एक थिए कांग्रेस सांसद नरोत्तम बैद्य । प्रदेशसभामा प्रदेशको नामकरण सम्वन्धी कार्यविधि माथि छलफल गर्न रोष्टमम पुगेका उनी आफ्नै नेता बानियाँ माथि खनिन पुगे । उनले नेता बानियाँ भावनामा बगेर राजधानीमा हेटौंडाको विकल्प छैन भन्दै भनेको भन्दै त्यसको प्रतिवाद गरे । उनले कांग्रेसको संसदीय दलको बैठकमा राजधानी हेटौंडा राख्ने निर्णय नभएको भन्दै ह्वीप पनि लगाउन नसक्ने बताए । उनको यो अभिव्यक्तिले राजधानीको विषयमा कांग्रेस भित्रको रडाको पनि बाहिर पोखिएको छ । आफ्नै नेता विरुद्ध प्रदेशसभामा खनिएर उनले पार्टी अनुशासनको समेत खिल्ली उडाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*