नवोदयद्वारा थाहानगरमा कार्यशाला आयोजना

नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले आयोजना गर्न लागेको हेटौंडा बाल कला साहित्य महोत्सवलाई मध्यनजर गरेर थाहानगरमा कार्यशाला आयोजना गरेको छ । शुक्रबार थाहानगरको जेसीज हलमा कथा, कविता र चित्रकला कार्यशाला तथा प्रतियोगिता भएको थियो ।
थाहानगर शिक्षा शाखाका प्रमुख शोभाकर रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा थाहानगरपालिका मेयर लवशेर विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका विष्टले पठन संस्कृतिको विकासको लागि कार्यशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिए । कार्यशाला हरेक विद्यालयहरुले सञ्चालन गर्नुपर्ने बताए ।
‘नेपाली भाषामा निखारता तथा शुद्धता ल्याउनको निम्ति साहित्यको महत्वपूर्ण पाटो रहन्छ ।’ उनले भने –‘कार्यशाला सञ्चालनको लागि नगरापलिकाले पनि पहल गर्ने छ । विद्यालय स्तरीय कार्यशाला समय समय गर्नुपर्ने देखिन्छ ।’
यसैगरी कथा, कविता र चित्रकला प्रतियोगिता पनि आयोजना गरेको थियो । गद्य र पद्यमा आधारित कविता प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय कक्षा ९ की छात्रा नम्रता धमाल, इअन इंग्लिस एकेडेमीका कक्षा १० का छात्र प्रलाद बलामी र पालुङ इंग्लिस बोर्डिङ स्कूल कक्षा ९ का छात्रा संजीता स्याङतान उत्कृष्ट हुन सफल भए ।
कविता प्रतियोतिमा ४० जना विद्यार्थीले सहभागिता जनाएका थिए । यसैगरी कथा प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयको सिटिभिटी संकाय दोस्रो वर्षमा अध्ययनरत किस्मत बुढा, नाट्यश्वर माध्यमिक विद्यालय कक्षा १० का विकास गमाल, झम्केश्वर माध्यमिक विद्यालय कक्षा १० का अनुशा प्रधान उत्कृष्ट भए । उक्त प्रतियोगितामा २९ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
चित्रकला प्रतियोगितामा इअन एकेडेमीका ज्योगचना श्रेष्ठ, पालुङ भ्याली हर्ट एकेडेमीका दिपेश विष्ट, सुनौलो माध्यमिक विद्यालयका अनुशा गोपाली उत्कृष्ट भए । प्रतियोगिताको निर्णायकमा गजल मञ्च मकवानपुरका सचिव केशव समर्पण र प्रगतिशील लेखक संघ मकवानपुरका सचिव विशाल अधिकारी रहेका थिए ।
थाहानगरपालिकामा रहेका नीजि तथा सामूदायिक विद्यालयका १५ वटा विद्यालयले कार्यशालामा सहभागिता जनाएका थिए । शिक्षक तथा विद्यार्थीहरुको कार्यशालाको माध्यमबाट कला–साहित्यको सीप तथा तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने भएकोले कार्यक्रम आयोजना गरेको महोत्सव कार्यक्रम संयोजक मनोज लामाले बताए ।
दोस्रो पटक आयोजना हुन लागेको हेटौँडा बाल कला–साहित्य महोत्सव २०७६ पौष २५ र २६ गते नवोदय विद्यालयको प्राङ्गणमा हुँदैछ । कार्यशालामा नवोदय विद्यालयका नेपाली विषयका शिक्षक रोशन चौलागाई, कल्पना निरौलालगायतको आतिथ्यता रहेको थियो ।