नवोदयले हेटौंडामा बाल कला–साहित्य महोत्सव गर्ने

महोत्सवमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य आउने
बाइलाइन नेपाल
२ पुष २०७६, बुधबार १८:५१

हेटौंडा । मकवानपुर  जिल्लामै संस्थागत विद्यालयतर्फ नमुना विद्यालयको रुपमा विकास भइरहेको नवोदय शिशु सदनले हेटौंडा बाल कला–साहित्य महोत्सव–२०७६ आयोजना गर्ने भएको छ । विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष कार्यक्रम सञ्चालन गदै आएको विद्यालयले अघिल्लो वर्षबाट महोत्सवको आयोजना थालेको हो ।

गुणस्तरिय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको रुची अनुसार सिकाउँदै आएको नवोदयले यसवर्ष यही पुस २५ र २६ गते महोत्सवको आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । नेपाली भाषा, साहित्य तथा कलाका बारेमा शिक्षकदेखि विद्यार्थीसम्मलाई ज्ञान दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको विद्यालयका निर्देशक दीपेश जोशीले जानकारी दिए ।

यस वर्षबाट कलालाई पनि महोत्सवमा जोड्न लागिएको उनले बताए । महोत्सवले सिर्जनात्मक पठन संस्कृति, कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाका बारेमा ज्ञान दिने जोशीले बताए । उनले महोत्सवले बालबालिकामा पहिचानसहितको आत्मनिर्भरता, समय सापेक्षितसहितको तार्किक, मोलिक सिर्जनात्मकता तथा शैक्षिक क्षेत्रको विकासमा सहयोग पुग्ने उल्लेख गरे ।

विद्यालयमै सञ्चालन हुने महोत्सवमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, लेखिका राधा पौडेल, साहित्यकार अमर न्यौपानेसहितका साहित्यकार तथा कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक सीएम रिमालले बताए । उनले महोत्सव बिहान साढे ९ बजेबाट दिउँसो साढे तीन बजेसम्म सञ्चालन हुने जानकारी दिए । महोत्सवमा करिब ६ हजार जनाको सहभागिता रहने विद्यालयको अनुमान रहेको छ ।

महोत्सवमा बाल कला–साहित्य सम्वन्धमा सर्जकहरुसँग छलफल, अबको शिक्षा कस्तो हुनुपर्ने भन्न्े विषयमा कार्यशाला, कथा लेखन, नाटक मञ्चन, कविता, मुक्तक, गजल लेखन र वाचन, कला प्रर्दशनी, पुस्तक पर्दशनीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

जिल्लाका विभिन्न विद्यालयबाट महोत्सवमा विद्यार्थी सहभागी गराउनका लागि छनोटका कार्यक्रमहरु सञ्चालन भइरहेको कार्यक्रम संयोजक रिमालले बताए । यसैक्रममा पुस ११ गते थाहानगरका विद्यार्थीलाई कार्यशलाको आयोजना गरिएको उनले जानकारी दिए । हेटौंडाका आधुनिक र चन्दोदय मावि र मुनलाइट र मकवानपुर एभरेष्ट विद्यालयमा पनिकार्यशाला भइरहेको रिमालले बताए ।

नवोदयका विद्यार्थीहरुले लेखेको कविताको संग्रहपनि महोत्सवमा विमोचन हुने जनाइएको छ । संग्रहको नाम फक्रँदो इन्द्रेणी रहेको रिमालले जानकारी दिए ।

महोत्सव गर्नुको उद्देश्य सिर्जनात्मक पठन संस्कृतिको विकास गराउने, सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने, भाष विकासका लागि कला–साहित्यको सम्वन्ध र यसको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतको रहेको निर्देशक जोशीले बताए ।

कार्यक्रममा बाल कला सङ्ग्राहलयका कैलाश श्रेष्ठले अध्ययनसँगै बालबालिकालाई कसरी उपयोगी कला सिकाउनु पर्ने बताए । उनले यस्ता कार्यक्रमले बालबालिकाले अध्ययनसँगै कला र साहित्यको क्षेत्रमा गुणस्तरिय यात्रा सुरु गर्ने बताए । कला तथा पुस्तकहरु पनि कुन उपयोगी र राम्रा हुन भन्ने कुरा जानकारी दिन आवश्यक रहेको श्रेष्ठको भनाइ थियो ।

महोत्सवमा हेटौंडा उपमहानगरपालिका, काठमाडौं पब्लिकेशन, बाल कला सङ्ग्राहलय, सर्जक सञ्जाल मकवानपुर, नेपाल बालसहित्य समाजको सहकार्यमा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु