आगो, ताप्न जाने उपयोगी, नजाने काल

चिसो मौसममा न्यानोका लागि घर–कोठामा आगो बालेर सुत्दा बेला बेलामा निसास्सिएर ज्यान जानेसम्मका घटना हुने गरेका छन् ।
विशेष गरी जाडो छल्न तथा कोठा तातो पार्न कोइला, ब्रिकेट, भुस र दाउरा बालेर सुत्दा अक्सिजनको अभावमा निसास्सिएर सर्वसाधारणले अकालमै ज्यान गुमाउने गरेका छन् ।
सोमवार राति पनि कीर्तिपुरमा यस्तै दुःखद घटना भएको छ । कीर्तिपुरको सुन्दरबजारमा कोठा तताउन कोइला बालेर सुतेका आमाछोराको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत कीर्तिपुरका अनुसार मृत्यु हुनेमा स्थानीय नवराज रञ्जितकारकी श्रीमती शर्मिला र दुई महिनाका छोरा छन् ।
सुत्केरी श्रीमती र शिशुलाई साँझ कोइलाको रापमा सेकाइसकेपछि कोठालाई तातो पार्न मकलमा कोइला बालेर सुत्दा निसास्सिएर आमा र छोराको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । गोरखापत्रमा खबर छ ।