मकवानपुरमा दूध बिक्रीबाट एक वर्षमा ५८ करोड गाउँ भित्रियो

बाइलाइन नेपाल
३० मंसिर २०७६, सोमबार ०९:३७

हेटौंडा । दूध बिक्रीमा सहकारीको सक्रियताका कारण सहरको पुँजी गाउँसम्म पुग्न थालेको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गर्ने दूध गाउँमै सञ्चालन भएका सहकारीले संकलन गरेर बजार पठाउने होडबाजी बढेसँगै सहरको पुँजी गाउँसम्म पुग्न थालेको हो । मकवानपुरमा हाल ४९ वटा दुग्ध सहकारी सक्रिय रूपमा सञ्चालित छन् ।

यी सहकारीले ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको दूध संकलन गरी बजार पठाउने माध्यमको भूमिका निर्वाह गर्दा सहरको पुँजी गाउँमा पुग्न सफल भएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको दाबी छ ।

जिल्लामा २७ वर्षअघि स्थापना भएको दुग्ध उत्पादक सहकारीले विशेष गरी ग्रामीण क्षेत्रमा उत्पादित दूध आफ्ना सदस्य संस्थामार्फत कारोबार गरेर सहरमा बिक्रीका लागि ल्याउने गरेको छ । किसानले आफ्नो नजिक रहेको सहकारीलाई उपलब्ध गराउने र संघले सबै सदस्य संस्थाबाट संकलन गरेर बजारदेखि उद्योगसम्म दूध बिक्रीबाट आर्थिक वर्ष ०७५ । ७६ मा ५८ करोड रुपैयाँ पुँजी गाउँ पुगेको हो ।

संघले आव ०७५।७६ मा ५८ करोड ७८ लाख ६१ हजार ५ सय ७४ रुपैयाँ ग्रामीण क्षेत्रमा रहेका आफ्नो सदस्य संस्थालाई भुक्तानी गरेको २७औँ साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ । संघले संकलन गरेको दूध बजारमा बिक्री गरेर सदस्य संस्थालाई भुक्तानी दिने गरेको अध्यक्ष वासुदेव अधिकारीले बताए । उनले सहरी क्षेत्रमा बिक्री गर्दा गाउँका किसान र सहकारीले उचित मूल्य पाउने दाबी गरे ।

संघले दूध बिक्रीको रकम गाउँ जाने क्रम बर्सेनि बढ्दो रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । संघले गाउँका दुग्ध सहकारीमार्फत ९८ लाख ३६ हजार ४ सय ४३ लिटर दूध बिक्रीबाट ५४ करोड ८१ लाख ५० हजार ८ सय १९ रुपैयाँ उद्योगबाट कारोबार भएको जनाएको छ । सहकारीले स्थानीय क्षेत्रमा ३ लाख २९ हजार ४ सय ५४ लिटर बिक्रीबाट २ करोड २३ लाख ५२ हजार ३ सय ६८ रुपैयाँ कारोबार गरेका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दैनिक ३५ हजार लिटर दूध संकलन गर्दै आएको छ । संघले चिस्यान केन्द्र चौकीटोलमा ६ लाख ८८ हजार ८ सय ८७ लिटर संकलन गरेको छ । ३४ वटा दुग्ध चिस्यान केन्द्रमा ७० हजार लिटर भण्डारण क्षमता रहेको संघले जनाएको छ । संघले संकलन गरेको दूधमध्ये विभिन्न उद्योगलाई ३ लाख ५८ हजार १ सय ८३ लिटर बिक्रीबाट २ करोड ८ लाख ४२ हजार १ सय ३७ रुपैयाँ आम्दानी गरेको अध्यक्ष वासुदेव अधिकारीले जानकारी दिए ।

संघका अनुसार जिल्लामा ६ वटा दुग्ध उत्पादक सहकारी संस्था निष्क्रिय रहेका छन् । हाल आमभन्ज्याङका ४ वटा र सिस्नेरीका २ वटा सहकारी निष्क्रिय रहेका हुन् । संघले आमभञ्ज्याङका सेतीदेवी, गौरीशंकर, बुद्ध र सिस्नेरीका शुद्ध र टेकर सहकारी निष्क्रिय रहेको जनाएको छ । निष्क्रिय रहेका सहकारीलाई पत्राचारमार्फत सक्रियताका लागि अनुरोध गरिएको संघको दाबी छ । नयाँ पत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*