आज आँचलले छ जना स्रष्टालाई सम्मान गर्ने

हेटौंडा । मकवानपुरमा रहेर साहित्यमा क्रियाशिल आँचल साहित्य कला पुञ्जले आज छ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । जिल्लामा रहेको एकमात्र नारी साहित्यकारको संस्थाले साहित्यका विभिन्न विधामा योगदान पु¥र्याउने स्रष्टालाई सम्मान गर्न लागेको जनाएको छ । संस्थाको वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा हेटौंडाको बाइपासरोडमा रहेको होटलप्रकाशमा आयोजना गरिएको कार्यक्रममा स्रष्टालाई सम्मान गर्ने जनाइएको छ ।
संस्थाले दिएको जानकारी अनुसार बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ समालोचक तथा कवि डा. विन्दु शर्मालाई प्रदान गरिने छ । समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको पुरस्कारको राशी दश हजार रहेको छ ।
संस्थाकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ साहित्यकार प्रभा भट्टराईलाई प्रदान गरिने जनाइएको छ । पुरस्कारको राशी दश हजार रहेको संस्थाकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।
यस्तै ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –२०७६ पत्रकार नवराज शर्मालाई प्रदान गर्ने निर्णय भएको संस्थाले जनाएको छ । प्रकाश लम्सालले पिताको स्मृतिमा स्थापना गरेको सम्मानको राशी ५हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७६ साहित्यकार ललिता दोषीलाई प्रदान गरिने कार्यवाहक अध्यक्ष न्यौपानेले जानकारी दिइन् । साहित्यकार रुकु कार्कीले पिता तथा माताद्धयको नाममा स्थापना गरेको पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
त्यसैगरी अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७६ साहित्यकार आरसी रिजाललाई प्रदान गरिने जनाइएको छ । संस्थाकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५सम्म अध्यक्ष भएकी तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले स्थापना स्थापना गरेको पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठ माता मंगलादेवि श्रेष्ठको स्मृतिमा स्थापना गरेको नवप्रतिभा सम्मान रहेको छ । जसको राशी ३ हजार ५ सय रहेको छ । उक्त पुरस्कार हटियाको त्रिभुवन माविमा कक्षा ८ मा अध्ययनरत इश्वर लुईटेललाई प्रदान गरिने जनाइएको छ ।
२०६९ साल मङ्सिरको २४ गते स्थापना भएको संस्थाले साहित्य, कला एवम् संस्कृति विकासको लागि मकवानपुर जिल्लामा छरिएर रहेका नारी सर्जकहरुलाई आवद्ध गराउनुको साथै सम्पूर्ण जातजाती, भाषा, कला, संस्कृतिको विकासमा सहयोग पु¥याउने एवम् साहित्यको उन्नयनयमा सहयोग गर्ने उद्देश्य रहेको जनाइएको छ ।