सेल्फी किङमा विपिनको फरक अवतार

काठमाडौं । सोमबार छोरीको बाबु बनेका अभिनेता विपिन कार्की मंगलबार नयाँ लुक्समा देखिएका छन् । फिल्म ‘सेल्फी किङ’ले मंगलबार सार्वजनिक गरेको फस्टलुकमा विपिन अहिलेसम्मकै फरक लुक्समा देखिएका हुन् ।
२४ माघलाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरिएको ‘सेल्फी किङ’को फस्टलुकमा विपिनले आँखामा गाजल र ओठमा रातो रंगको लिपिस्टिक लगाएका छन् भने, उनको कपाल समेत लामो देख्न सकिन्छ ।
विपिनको यो लुक्सले उनको फिल्ममा कस्तो भूमिका रहेको होला भन्ने दर्शकमा कौतुहलता जगाएको छ । फस्टलुकले फिल्म भित्रको विपिनको चरित्र झल्काएको निर्माता सुवास थापाले बताए ।
फिल्ममा विपिनले गोपाल दाहाल नामक एक हाँस्यकलाकारको भूमिका निर्वाह गरेका छन् । फिल्म एक चर्चित टेलिभिजन हास्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा निर्माण भएको हो ।
‘सेल्फी किङ’मा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
फिल्मको एक आइटम गीतमा अभिनेत्री केकी अधिकारीले नृत्य गरेकी छन् । फिल्ममा विपिन र लक्ष्मीले श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।
दिनेश राउत र सुवास थापाले मिलेर बनाएको यो फिल्ममा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ । फिल्मका सहनिर्मातामा राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।