आँचलले पाँच जना स्रष्टालाई सम्मान गर्ने

बाइलाइन नेपाल
२७ कार्तिक २०७६, बुधबार १७:५७

हेटौंडा । मकवानपुरमा रहेर साहित्यमा क्रियाशिल आँचल साहित्य कला पुञ्जले यसवर्ष पाँच जना स्रष्टालाई सम्मान गर्ने भएको छ । जिल्लामा रहेको एकमात्र नारी साहित्यकारको संस्थाले साहित्यका विभिन्न विद्यामा योगदान पु¥र्याउने स्रष्टालाई सम्मान गर्न लागेको जनाएको छ ।

संस्थाले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । संस्थाले दिएको जानकारी अनुसार बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ समालोचक तथा कवि डा. विन्दु शर्मालाई प्रदान गरिने छ । समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको पुरस्कारको राशी दश हजार रहेको छ ।

संस्थाकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ साहित्यकार प्रभा भट्टराईलाई प्रदान गरिने जनाइएको छ । पुरस्कारको राशी दश हजार रहेको संस्थाकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।

यस्तै ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –२०७६ पत्रकार नवराज शर्मालाई प्रदान गर्ने निर्णय भएको संस्थाले जनाएको छ । प्रकाश लम्सालले पिताको स्मृतिमा स्थापना गरेको सम्मानको राशी ५हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७६ साहित्यकार ललिता दोषीलाई प्रदान गरिने कार्यवाहक अध्यक्ष न्यौपानेले जानकारी दिइन् । साहित्यकार रुकु कार्कीले पिता तथा माताद्धयको नाममा स्थापना गरेको पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

त्यसैगरी अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७६ साहित्यकार आरसी रिजाललाई प्रदान गरिने जनाइएको छ । संस्थाकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५सम्म अध्यक्ष भएकी तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले  स्थापना गरेको पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

घोषणा गरेका सम्मान तथा पुरस्कार २०७६ मंसिर २१ आँचल साहित्य कला पुञ्जको वार्षिकोत्सवको दिन प्रदान गरिने कार्यवाह अध्यक्ष न्यौपाले जानकारी दिइन् । कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष मुना अर्याल, साहित्यसेवी मुक्ति गोविन्द वैद्य, कार्यसमितिका सदस्य तथा सञ्ञ्चारकर्मीको सहभागिता रहेको थियो ।

२०६९ साल मङ्सिरको २४ गते स्थापना भएको संस्थाले साहित्य, कला एवम् संस्कृति विकासको लागि मकवानपुर जिल्लामा छरिएर रहेका नारी सर्जकहरुलाई आवद्ध गराउनुको साथै सम्पूर्ण जातजाती, भाषा, कला, संस्कृतिको विकासमा सहयोग पु¥याउने एवम् साहित्यको उन्नयनयमा सहयोग गर्ने उद्देश्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु