हेटौंडामा पौडल, निधी र कोइरालालाई हर्कादै देउवाले भने के को दुईतिहाइ ?

बाइलाइन नेपाल
२६ कार्तिक २०७६, मंगलवार १९:०१

हेटौंडा । हेटौंडामा मंगलबार कांग्रेसको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न रोष्टममा पुग्ने बित्तिकै पार्टी सभापति शेरबहादुर देउवा झन्नक रिसाए । उनि सरकार तथा कम्युनिष्ट नेतासँग रिसाएका भने होइनन् । कांग्रेसका केन्द्रीय तहका नेताको भाषण सुनेर रिसाएका हुन् ।

उनि अघि भाषण गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, रामशरण महतलगायतका नेताले गरेको भाषणका कारण रिसले चुर भएका देउवाले माइक समाउना साथ हप्काउन थालेका हुन् । उनि अघि भाषण गर्ने नेताहरुले जनयुद्ध र दुईतिहाइको सरकार भन्ने शब्द पटकपटक लिएको भन्दै उनि रिसाएका रहेनछन् ।

लिनै नपर्ने शब्द पटकपटक लिएको भन्दै रिसाएका देउवाले भने– नेताहरुलाइृ नै प्रशिक्षण पुगेकै छैन । उनले भाषण गर्ने भन्दापनि कसरी चुनाव जित्ने भन्नेमा लाग्नुपर्ने उल्लेख गरे । देउवाले हर्कादा मञ्चमा रहेका नेताहरु मौन देखिए भने कार्यकर्तामा हासिरहेका थिए ।

त्यसपछि अन्य भाषणमा लागेका सभापति देउवाले अहिले देखिएको सिमा विवादबारे सरकारले तत्काल भारतसँग वार्ता गर्नुपर्ने । उनले नेपालको भूभाग भारतले आफ्नो नक्सामा राखेकाले वार्ताबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेका हुन् ।

उनले कालापानी नेपाली भु–भाग र लिपुलेक त्रिदेशीय विन्दु भएको समेत स्पष्ट पार्दै भारतसंग वार्ता गर्न प्रधानमन्त्री ओलीलाई के कुराले रोक्यो भन्दै प्रश्न गरे । उनले वर्तमान सरकार जनताको समस्यामा भन्दा पनि अनावश्यक काममा बढि अलमलिएको बताए । नोपलको भूभाग माथि भएको अतिक्रमण बारे वार्ता गरेर समाधान गर्न सभापति देउवाले सरकारसँग माग गरे । वार्ता गर्न ढिला गरेको भन्दै देउवाले सरकारको आलोचना समेत गरे ।

अहिलेको सरकार अधिनायकवादी चरित्र अघि बढेको र राज्यमा विभिन्न अंगहरुलाई नियन्त्रणमा लिने काम गरिरहेको भन्दै यसको प्रतिकार जरुरी रहेको देउवाले बताए । उनले कम्युनिष्टसहित विदेशी शक्ति नेपालको प्रजातन्त्रलाई धरापमा पारेर देशलाई संकटतर्फ धकेल्न उद्यत रहेको आरोप लगाए । उनले देशका विरुद्ध लाग्ने सबैलाई खबरदारी गर्न नेता तथा कार्यकर्तालाइ निर्देशन दिए ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा आन्दोलन गरेर भन्दा आफ्ना प्रमाणहरु पेश गरेर भारतसंग सरकारले सिमा विवादबारे छलफल गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिमा विवाद समाधानमा साथ दिने कांग्रेसले प्रतिवद्धता गरिसकेको भन्दै अब प्रधानमन्त्रीको भनाई र गराई हेर्ने बेला आएको उल्लेख गरे ।

अहिलेको सरकारलाई दुईतिहाइको दम्भ रहेको उल्लेख गर्दै पौडेलले कम्युनिष्टले देशको विकास गर्न नसक्ने दाबी गरे । अहिले पनि कांग्रेसले सुरु गरेका योजनामा ताली बजाउने काम मात्र कम्युनिष्ट सरकारले गरिरहेको पौडेलको भनाइ छ ।

कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति विमलेन्द्र नीधि, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत, महालक्ष्मी उपाध्याय डिना, महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी लगायतले सरकारको कार्यशैलीले जनतामा निरासा छाएको भन्दै कांग्रेसले जनताको हितमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।

दुई दिने प्रशिक्षणमा ३ नम्बर प्रदेशका ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोतम दाहालले जानकारी दिए । प्रशिक्षणमा २ सय ९० जनाको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*