डोरमणि पौडेललाई मुख्यमन्त्री वा राजधानी रोज्न दबाब

बाइलाइन नेपाल
२६ कार्तिक २०७६, मंगलवार ११:१५

हेटौंडा । बिमारी भएर काम गर्न नसकेको आरोप खेपेका प्रधानमन्त्री केपी शर्माले पछिल्लो समय सक्रियता बढाएर यसको जवाफ दिइरहेका छन् । एकपछि अर्को बोल्ड निर्णय गर्दै उनले आफु काम गर्न सक्ने अवस्थामा रहेको बताइरहेका छन् ।

प्रदेश प्रमुख, सचिवालयका कर्मचारीदेखि सिमा विाादहुँदै पार्टीको आन्तरिक नियुक्तीसम्मका काममा एकपछि अर्को निर्णय गर्दै गएका ओलीले अब मुख्यमन्त्रीहरुलाई हटाउने तयारीमा जुटेको स्रोतले जनाएको छ । मुख्यमन्त्रीहरुले केन्द्रको निर्देशन र संघीयताको मर्म अनुसार काम गर्न नसकेको नेकपाका अध्यक्षद्वय केपी शर्मा र पुष्पकमल दाहालले निष्कर्ष निकालेको जनाइएको छ । त्यससँगै अहिले मुख्यमन्त्रीहरु परिवर्तनको तयारीमा दुवै अध्यक्ष आन्तरिक रुपमा लागेको स्रोतको दाबी छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि परिवर्तन हुने जनाइएको छ । अपेक्षा अनुसारको काम गर्न नसकेको र राजधानीको विषयमा धेरै राजनीति गरेको भन्दै आफ्नै सांसदले प्रधानमन्त्रीलाई उजुरी गरेपछि उनिपनि कारबाहीमा पर्न लागेको उल्लेख छ । अहिले प्रदेश ३ का नेकपाका अधिकांश सांसद पौडेलको विपक्षीमा रहेको नेकपाका एक नेताले बताए ।

मुख्यमन्त्री पौडेललाई अर्को पनि दबाब दिइएको स्रोतले दाबी गरेको छ । पौडेललाई नेकपाका शिर्ष नेता तथा प्रदेशका सांसदले मुख्यमन्त्री वा प्रदेश ३ को स्थायी राजधानी मध्ये एक रोज्न दबाब दिइएको छ । अरु मन्त्रीलाई राजधानीका विषयमा नबोल्न निर्देशन दिएर आफुले सधै स्थायी राजधानी हेटौंडा हुन्छ भन्दै हिँड्ने गरेको आरोप लागेको छ ।

हेटौंडा स्थायी राजधानी हुनुपर्ने भए मुख्यमन्त्री छाड्न पौडेललाई दबाब आएको एक नेताले बताए । पौडेल मुख्यमन्त्री बन्दा नै राजधानीसँग मुख्यमन्त्री पद साटेको भन्दै हेटौंडामा आलोचना भएको थियो । तर अहिले त्यही विषयले फेरि प्रवेश पाएको छ । मुख्यमन्त्री पौडेलले स्थायी राजधानी र नामलाई टुंगोमा नपुर्याएको भन्दै तीब्र असन्तुष्टि बढेको छ ।

सांसद केशव स्थापितले मुख्यमन्त्री परिवर्तनको चर्चा सुनेको तर आधिकारिक रुपमा केही थाहा नभएको जानकारी दिए । उनले प्रदेश सरकारले ससाना काम पनि गर्न नसकेको आरोप लगाए । अनावश्यक रुपमा समस्यालाई तन्काउने काम मात्र गरिरहेको बताए । हेटौंडा नै स्थायी राजधानी भएपनि टुंगोमा पुर्याउने, नाम राख्ने काम नगरेर अनावश्यक राजनीति गर्ने काम मुख्यमन्त्रीले गरिरहेको बताए । उनले को हट्छ, को आउँछ आफ्नो चासो नभएको उल्लेख गर्दै पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

प्रदेश ३ का प्रमुखको स्वागतमा मुख्यमन्त्री पौडेल सहभागी नहुनुलाई पनि अर्थ पूर्ण रुपमा हेरिएको छ । लामो समयदेखि सरकारले सांसदको बैठक आव्हान गर्न सकेको छैन् । केही दिन अघि स्मारक विकास समितिको अध्यक्ष पद दोहोर्याएका पौडेल पछिल्ला दिन काठमाडौं केन्द्रित भइरहेका छन् ।

मुख्यमन्त्री पद छाड्न तयार छु तर स्मारकको अध्यक्ष छाड्दिन भनेर गतवर्षको सहिद दिवसमा भाषणा गरेका मुख्यमन्त्री पौडेलको अन्तत त्यही  अवस्था सिर्जन हुन लागेको नेकपाका एक नेताले बताए । नेकपाका अध्यक्षद्वयले कारबाही गर्दा प्रदेश ३ का मुख्यमन्त्री मात्र नपर्ने स्रोतले जनाएको छ । उनिसँगै अन्य प्रदेशका मुख्यमन्त्री पनि असक्षम  हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*