भैरव स्मृति सम्मान शाक्यलाई प्रदान गरिने

बाइलाइन नेपाल
२४ कार्तिक २०७६, आईतवार १४:०९

हेटौंडा । साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपालले वर्षेनी प्रदान गर्दै आएको भैरव स्मृति सम्मान–२०७५ बाट माणिकरत्न शाक्य सम्मानित गर्ने भएको छ ।

पुरस्कार निर्णायक समितिको बैठकले हास्यव्याङ्ग्य साहित्य लेखन, संकलन, सम्पादन, प्रचारप्रसार र प्रवद्र्धनमा लामो समयदेखि क्रियाशिल रहेको भन्दै सम्मान प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक आरसी रिजालले जानकारी दिए ।

आगामी मंसिर ७ गते हेटौंडामा आयोजना हुने विशेष साहित्यिक कार्यक्रममा शाक्यलाई सम्मानित गरिने जनाइएको छ । सम्मानपत्रसहित शाक्यलाई नगद २१ हजार प्रदान गरिने संयोजक रिजालले बताए ।

साहित्य संगम र हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको पुष्पलाल स्मृति पुस्तकालय प्राङ्गणमा स्थापना गरिएको भैरव अर्यालयको प्रतिमा स्थलमा कार्यक्रमको आयोजना हुने संगमका अध्यक्ष निमेष निखिलले जानकारी दिए ।

यसअघि यो सम्मानबाट ९ जना हास्यक्षेत्रमा क्रियाशिल साहित्यकार सम्मानित भइसकेका छन् । सम्मान स्थापना भएको वर्ष २०६५ मा पोखराका चुडामणि खनाल, २०६६ मा स्याङजाकी गायत्री परिरोशनी, २०६७ मा झापाका चुडामणि रेग्मी, २०६८ मा काठमाडौंका नरनाथ लुईंटेल, २०६९ मा काठमाडौंका चट्याङ मास्टर र २०७० मा बासुदेव गुरागाईं (पिँडालु पण्डित) लाई प्रदान गरिएको थियो ।

यसैगरी २०७१ मा सम्मानको राशी भूकम्पबाट प्रभावित साहित्यकारलाई प्रदान गरिएको थियो । २०७२ मा मनोज गजुरेल, २०७३ मा सिताराम कट्टेल( धुर्मुस), २०७४ मा मकवानपुरका राजकुमार लामिछानेलाई प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*