साहित्यमार्फत् उन्मुक्त पुस्ताको भारतलाई खबरदारी

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा छु: साहित्यकार रोशन शेरचन
बाइलाइन नेपाल
२४ कार्तिक २०७६, आईतवार १२:१८

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा आफू जहिले पनि साथै रहेको दावी गरेका छन्, साहित्यकार रोशन शेरचनले । लिपुलेक माथिको भारतीय अतिक्रमण विरूद्ध उन्मुक्त पुस्ताले गरेको सडक साहित्य आन्दोलन अन्तर्गत आज तेस्रो दिनको कार्यक्रममा आफ्नो सङ्क्षिप्त मन्तव्यका सिलसिलामा उनको उक्त कथन सार्वजनिक भएको हो ।

सुरक्षाकुर्मीको चर्को अवरोधबीच काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको सडक कविता वाचन कार्यक्रममा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा केशव सिलवाल, प्रकाश गुरागाईं, खेम आचार्य, प्रेमिला राई,अशोक कुँवर ‘नेत्र’, मिसन अधिकारी, मुक्तान थेबा, माधव घिमिरे ‘अटल’, लगायत एक दर्जन भन्दा बढी स्रष्टाहरूले आआफ्ना सिर्जना सुनाए ।

आयोजक उन्मुक्त पुस्ताका अनुसार, भारतीय राजदूतावास अघि सिर्जना वाचन गरी थालनी भएको कार्यक्रमको दोस्रो दिन शान्तिवाटिकामा सम्पन्न भएको थियो भने आइतबार अपराह्न ४ बजे पाटनको मङ्गलबजारमा हुने तय भएको छ ।

सुरक्षाकर्मीले भृकुटीमण्डपमा पोष्टर टाँस्न र कार्यक्रम संञ्चालनमा अवरोध गरेको प्रति अभियानकै एक अभियन्ता प्रकाश गुरागाईंले तीव्र रोष प्रकट गरे । बाह्य हस्तक्षेप विरुद्ध आवाज उठाउन लाग्दा आन्तरिक हस्तक्षेपविरुद्ध पनि लड्नुपर्ने विडम्बना भएको उनको शिकायत थियो ।

त्यसरी नै उन्मुक्त पुस्ताको अगुवाइमा खोटाङ र हेटौंडा पछि पोखरामा भव्य रुपमा कार्यक्रम सम्पन्न भएका छन् । पोखराको सिर्जनाचोकमा आयोजित कार्यक्रममा स्रष्टाहरुले हस्तक्षेपविरुद्ध रचनामात्र वाचन गरेनन् गायन र नृत्यमा पनि भाग लिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु