संस्कारको नाममा विभेद कहिलेसम्म ?

हाम्रो समाज पुरुषप्रधान समाज हो । वर्षैदेखि पुरुषहरु कै हैकममा घर, समाज, टोल, गाउँ, देश सञ्चालन भइरहेको छ । पछिल्लो समय महिलाको उपस्थिति पनि पुरुषहरुलाई सहज देखिदैन । घरको काम, बालबच्चाको हेरचाहमा मात्रै महिललाई वर्षैदेखि सिमित राख्दै आएको इतिहास छ । घरको कामबाट महिललाई बाहिरी जीवनमा प्रवेश गर्न नदिन २१ औं शताब्दीमा पनि ठूलो कसरत भइरहेको छ । अहिले धेरै स्थानमा महिलाको उपस्थिति अनिवार्य गराइएको छ । तर त्यसमा पनि पुरुष मानसिकता हावी भएको प्रष्ट हुन्छ । उनिहरुलाई नेतृत्व र निर्णायक तहमा भन्दा पनि समावेश गर्नुपर्छ भन्ने मानसिकता बाट प्रेरित देखिन्छ ।
महिललाई सिर्जना गरिका अधिकांश पद उप रहेको छ । सहभागिता देखाउनकै लागि मात्र महिलालाई राखिएको प्रष्टै हुन्छ । यो पनि पुरुष मानसिकताबाट ग्रसित समाजले बनाएको एउटा बाटो हो । परम्परा लगत रुपमा विकास भएको छ भने त्यसलाई भत्काएर सही बाटो देखाउन सक्नु पर्छ । जसरी गलत रुपमा विकास भएका शक्ति र राज्य सञ्चालनका नीतिहरुलाई जनताले भत्काउँदै नयाँ मार्गमा हिँडाउँदै आएका छन् । महिला विरुद्ध वर्षै देखि चालिएका कुसस्कार र गलत प्रवृतिलाई पनि फाल्नु आवश्यक छ । तर अधिकांश निर्णयक तहमा पुरुषकै हालीमुहाली रहेका यो गलत संस्कार र परम्पराले अझै पनि निरन्तरता
पाइरहेको छ ।
अहिले पनि संस्कारको नाममा महिला माथि ठूलो विभेद छ । के संस्कार महिलाको हकमा मात्र लागू हुने चिज हो ? हाम्रो देशमा महिलामाथि संस्कारका नाममा भइरहेको थिचोमिचो, हेपाइ, व्यवहार देख्दा पुरुषहरुले संस्कारका नाममा महिलामाथि ठूलो अन्याय गरिरहेका छन् । सामाजिक, सांस्कृतिक रुपमा विभेद गरिरहेका छन् । महिलाको लवाई, खुवाई, हिँडाइ, बोलाइ लगायतका कुरामा संस्कारलाई जोडेर अपमान गर्ने काम अहिले पनि भइरहेको छ ।
यो हिंसाको एउटा ठूलो रुप हो । संस्कारका नाममा महिलाले अपमान कहिलेसम्म सहनु पर्ने हो ? अहिले पनि महिला माथि लक्षणकी छ कि छैन भनेर तौल्ने काम भइरहेको छ । महिलाले हास्न नहुने, धेरै बोल्न नहुने, अरुलाई सम्मान र आदरमात्र व्यक्त गर्नुपर्नेलगायतका ससाना कुरामा विभेद छ । हामीले हेर्दा त्यो सानो जस्तो लाग्छ तर यो विभेदको सबैभन्दा ठूलो रुप हो । महिला माथि हुने विभेद र थिचोमिचोको जग हो । जबसम्म हामीले त्यसलाई भत्काउन सक्दैनौ तबसम्म विभेदको अन्त्य हुन सक्दैन ।
महिला माथि जति ससाना विषयमा प्रश्न खडा गरिन्छ किन पुरुष माथि हुँदैन । के पुरुष यो समाज, नीति, नियम, अनुशासन भन्दा माथिका प्राणी हुन् । पुरुषलाई के सबै कुरामा छुट पाउने कुनै लिखित दस्तावेज छन् ? तर किन उनिहरु उन्मत हुन्छ सधैं । यो सबै कुरा पुरुषहरुले वर्षैदेखि महिला माथि गर्दै आएको थिचोमिचोकै निरन्तरता हो । महिलाका हरेक कुरामा अंकुश लगाउने काम भएको छ । यि महिलालाई कमजोर बनाउन पुरुषहरुले बनाएका यन्त्रहरु हुन् । महिलाहरुले पनि यसलाई तोड्न विशेष कदम चाल्न सकेका छैनन् । नेतृत्वमा रहेका महिलाहरुको भाषण र व्यवहारमा फरक पाइन्छ । उनिहरुपनि ससाना विभेदका छिटाबाट बाहिर आउन सकेका छैनन् ।
नेतृत्वमै पुगेका महिलाहरु पनि घरमा पुरुषको छाँयामा परिहेका छन् । जसले बन्धनलाई तोड्ने आँट गर्न सकेका छैनन् । सामान्य विषयमा समेत महिला माथि पुरुष हावी हुने गरेका प्रमाण तपाई हाम्रो घरमा प्रशस्तै छन् । एउटा महिला उपरखट्टी लगाएर बसी भने संस्कारी हुन्न । तर पुरुष उपरखुट्टी लगाएर बस्यो भने बहादुर हुन्छ । २१ औं शताब्दीमा पनि महिला माथि हुने अनेकौ विभेदले सहअस्तित्वको नारालाई जिस्काइरहेको भान हुन्छ । घर, समाज, कार्यालय कुनै पनि स्थानमा अहिले पनि महिला असुरक्षित नै छन् । हरेक पुरुष कुनै न कुनै महिला माथि कुदृष्टि राख्ने गर्दछन् । र उल्टै महिला माथि संस्सकारको भारी बोकाएर लखट्ने काम यही समाजले गर्दै आएको छ ।
महिला विभेद नगर्ने परिवरमा पनि नजानिदो तरिकाले विभेद भइरहेका छन् । छोरी मान्छे भएर यस्तो, उस्तो, छोरा भएको भए पो त ……। भर्खरकी बालिका माथि परिवारका सदस्यले प्रश्न गर्ने गर्दछन् । तिमी छोरी हौ । तिमीले संस्कार सिक्नु पर्छ भनेर छोरीलाई पटकपटक परिवारले मानसिक दबाब दिने गर्छ । जबकी उसलाई संस्कार के हो भन्ने थाहै हुदैन । हास्ने, खेल्ने, पढ्ने वा रमाइलो गर्दै हुर्कने उमेरमा परिवारले छोरीको नाममा अनेक बन्धनका किस्सा सुनाएर दायरा साधुरो बनाउँदै ल्याउने गर्दछन् । संस्कार भन्ने चिज महिलाका लागि मात्र बनाइएको हो । कुनै पनि पुरुषलाई हरेक कुरा गर्न छुट छ ? यसले पुरुष प्रधान समाजको जरो परिवारका हरेक सदस्यसम्म कसरी जकडिएको छ भन्ने प्रमाणित गर्छ । अर्काकी घरमा जाने हो भन्दै जन्मेको दिनदेखि विभेदको आँखाबाट छोरी माथि दृष्टिकोण बनाउने समाजले कसरी यसलाई हटाउन सक्छ ?
पछिला वर्ष महिला शसक्तिकरणमा ठूलो फड्को मारेको छ । तर विभेदका जराहरु बाँकी नै छ । जबसम्म महिलाहरु माथि हुने विभेदको जरा उखेल्न सकिदैन । तबसम्म पुरुष सोचले चलेको समाजबाट महिला अपमानित हुनबाट बच्न सक्दैनन् । हाम्रा आन्दोलन, विरोध र योजनाहरु अब जरा उखल्ने तर्फ हुनुपर्दछ । वर्षैदेखि जकडिएको जरालाई छाडेर रुख मात्र काट्दा पकटकपटक पलाएर दुःख दिइरहेको छ । जबसम्म हाम्रो सोचमा परिवर्तन आउदैन तबसम्म यी रुढीवादी पुरुष सोचमा पनि परिवर्तन आउँदैन सकारात्मक सोच राखेर अगाडि बढे मात्रै सहअस्तित्वको समाज निर्माण सम्भव छ ।
संस्कारका नाममा महिला माथिको विभेद अन्त्यका लागि पनि हरेक घरका सदस्यमा सकारात्मक सोचको विकासको विकल्प छैन । आमाले नै छोरी माथि विभेद गरिरहेका छन् । त्यसमा दोष आमाको होयन उनि पुरुषले शासन गरेको समाजमा हुर्किएकाले त्यही शासनलाई पछ्याउनु उनीहरुको विवशता हो । हामीले उनिहरुको सोचलाई परिवर्तनमा ल्याउन तल्लो तहबाटै काम सुरु गर्नु आवश्यक छ । किनभने विभेदका अनेकौ रुपले जरा गाडेको छ । जुन अहिलेलेको होइन् । निकै जकडिएको जरा उखेल्न सानो कसरतले सम्भव छैन । जसका लागि हरेक व्यक्तिमा सकारात्मक सोच आवश्यक छ ।