२२ वर्षपछि हेटौंडामा बहुप्राविधिक महाविद्यालयको शिलान्यास

बाइलाइन नेपाल
१९ कार्तिक २०७६, मंगलवार १८:१७

हेटौंडा । हेटौंडामा बहुप्राविधिक महाविद्यालय निर्माण गर्ने चर्चा चलेको २२ वर्षपछि मंगलबार शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका–६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा नेपाल भारत मैत्री वहुप्राबिधिक महाविद्यालयको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन् ।

चार विषयमा तीनवर्षे डिप्लोमा कोर्ष सञ्चालन गर्ने लक्ष्य लिएको महाविद्यालय निर्माणको चर्चा विसं २०५४ बाट भएको थियो । त्यस समयमा हेटौँडा नगरपालिकाका नगरप्रमुख रहेका पौडेलको पहलमा महाविद्यालय निर्माण गर्ने सोच ल्याइएको थियो ।

विसं २०६६ फागुन ४ गते तत्कालिन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकका रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएपछि निर्माण हुने आशा थियो । तर राष्ट्रप्रमुखको उपस्थितिमा हस्ताक्षर भएपनि काम अगाडि बढ्न सकेको थिएन ।

सम्झौता भएको १० वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालय निर्माण हुने भएको छ । करिब २७ बिगाहा जग्गमा ५८ करोड लागतमा २६ वटा सुविधासम्पन्न भवन, खेलमैदान, कक्षाकोठा, प्रयोगात्मक कक्षा वर्कशप प्लेस, छात्रावास तथा आवासगृहसहित महाविद्यालय निर्माण हुने सिटिइभिटीका प्रदेश ३ प्रमुख कृष्णबहादुर केसीले जानकारी दिए ।

महाविद्यालयको निर्माण भारतीय निर्माण कम्पनी टिसिएनआइ र नेपालको आरोग्य कन्ट्रक्सन कम्पनीद्वारा संयुक्तरुपमा गर्ने उनले बताए ।

महाविद्यालय निर्माणपछि देशलाई आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन भई बेरोजगारी समस्या समाधानमा समेत योगदान पुग्ने जनाइएको छ । महाविद्यालयमा पहिलो चरणमा ‘डिप्लोमा’ तहको ‘आइटी’, ‘मेकानिकल’ र ‘इलेक्ट्रिक’ विषयको अध्ययन अध्यापन हुनेछ भने आवश्यकता अनुसारका प्राविधिक कक्षा सञ्चालन हुँदै सिटिइभिटीइ प्रमुख केसीले बताए ।

महाविद्यालयमा हाललाई एसइई उत्तीर्णपछिको विभिन्न चार विषयमा तीनवर्षे डिप्लोमा कोर्ष सञ्चालन गर्ने जनाइएको छ । देशका लागि आवश्यक औद्योगिक जनशक्ति उत्पादनका लागि पनि महाविद्यालयले भूमिका खेल्नेछ ।

महाविद्यालयको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले अब तीन वर्षमा महाविद्यालयको निर्माणकार्य सम्पन्न भएर कक्षा सञ्चालन हुने बताए । उनले देशलाई आवश्यक दक्ष प्राविधिक उत्पादनका लागि पनि महाविद्यालय आवश्यक रहेको उल्लेख गरे । संघीय सरकारसँगको सहकार्यमा प्रदेश सरकारले महाविद्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको मुख्यमन्त्री पौडेलले जानकारी दिए । पौडेलले महाविद्यालयले प्रत्येक वर्ष २ हजार ५ सय दक्ष प्राविधिक उत्पादन हुने बताए ।

महाविद्यालय शिलान्यास कार्यक्रममा भारतीय राजदूतावासका चार्ज इन्अफ्येर्स डा. अजयकुमार, प्रदेश ३ का सामाजीक विकास मन्त्री युवारज दुलाल, प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*