जनकपुरमा ‘नेपाल लिटरेचर फेस्टिबल’ हुने

बाइलाइन नेपाल
१७ कार्तिक २०७६, आईतवार २१:०३

जनकपुरमा ‘नेपाल लिटरेचर फेस्टिबल’ हुनेलिटरेचर फेस्टिभलबारे जानकारी दिँदै महोत्सव निर्देशक अजित बराल र मनीष झा । आईएमई नेपाल लिटरेचर फेस्टिबलकाे जनकपुर संस्करण हुने भएको छ । महोत्सव यही कात्तिक २२, २३ र २४ गते हुने तय भएको छ ।

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक अजित बरालले नेपाल लिटरेचर फेस्टिबल सुरू गरेको केही वर्षदेखि नै आफूहरूलाई अन्य ठाउँमा पनि महोत्सव लैजान अनुरोध आउन थालेको बताए । ‘महोत्सवले हाम्रो सार्वजनिक वृत्त फराकिलो बनाउने, साहित्यको प्रवर्द्धन गर्ने भएकाले महोत्सवका स्थानीय संस्करण विभिन्न ठाउँमा आयोजना गर्नुपर्छ भन्ने लागेको हो,’ बरालले भने, ‘तर विभिन्न कारणले त्यसो गर्न सकेका थिएनौं । अहिले आएर फेस्टिबलको जनकपुर संस्करण आयोजना गर्न पाउँदा औधी खुशी लागेको छ ।’

नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक तथा फेस्टिबलको जनकपुर संस्करणका स्थानीय आयोजक मनीष झाले जनकपुरको साहित्यिक इतिहास पुरानै भए पनि यसलाई जनकपुरको आध्यात्मिक पाटोले छोप्दै आएको बताए । तीन दिन चल्ने फेस्टिबल जानकी मन्दिर, विवाह मण्डप, गङ्गासागर, गोपाल धर्मशाला र जनकपुर रेलवे स्टेसनमा सञ्चालन हुनेछ । फेस्टिबलमा १२ वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछन् ।

फेस्टिबलको मुख्य प्रवचन चिन्तक प्रदीप गिरीले दिनेछन् । उनले जानकी मन्दिरको प्राङ्गणमो जनकनन्दिनी सीतामाथि विचार राख्नेछन् ।
‘प्रदेश वा परदेश’ नामक सत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लेखक/पत्रकार सुधीर शर्मासँग बहस गर्नेछन् भने ‘सम्मान, स्वाभिमान र अभिमान’ सत्रमा प्रदेश २ की सांसद रानी शर्मा, पत्रकार किरण नेपाल र प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाबीच संवाद रहनेछ । सांसद गगन थापाले उक्त सत्र सञ्चालन गर्नेछन् ।

‘बहुभाषिक कविता वाचन’, ‘साहित्यमा मधेसी पात्रमाथि बहस’, ‘जनकपुरका महत्त्वपूर्ण साहित्यिक स्रष्टाहरूको योगदान’, ‘मधेशको भोजन संस्कृति’लगायतका विषयमा फेस्टिबलमा चर्चापरिचर्चा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु