चित्लाङ पुरानै लयमा फर्किंदै

त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो । तराई झर्ने हुन् वा राजधानी प्रवेश गर्ने, यही नाका भएर ओहोरदोहोर गर्थे । राजधानी प्रवेश गर्ने अधिकांश बटुवा र भरियाहरूको बास चित्लाङमै हुन्थ्यो । ‘बटुवाहरूको लर्को नै लाग्थ्यो,’ मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङका ८१ वर्षीय बाबुकाजी मानन्धर सम्झन्छन्, ‘त्यतिबेला एक पैसाको चामलले एक जनालाई मजासँग खान पुग्थ्यो ।’
मानन्धरको आफ्नै पसल पनि थियो । जो पहिला आयो, उसैलाई चुल्हो भाडा दिने गरेको उनी बताउँछन् । ‘चुल्हो, दाउरा, चामल र बास बसेको एक यात्रीसँग चार पैसा लिन्थेँ,’ उनी करिब पाँच दशकअघिको समयतिर फर्किए, ‘मेरो घरमा मात्र भात पकाउने ६० वटा चुल्हो थियो, लहरै सुत्नका निम्ति परालको सुकुल ओछ्याएको टहरो हुन्थ्यो । छरछिमेकहरूले पनि बटुवाहरूका लागि यस्तै व्यवस्था गरेका थिए । कैयौं बटुवा घरमा बस्ने ठाउँ नपाएर पाटीपौवामा पनि बस्थे ।’
चित्लाङमा बास बसेर बिहान सबेरै चन्द्रागिरि डाँडा उकालो लाग्दा कमिलाका ताँतीझैं देखिन्थे मान्छेहरू ।
पैदलयात्रुले भरिभराउ हुने चित्लाङ त्रिभुवन राजपथ निर्माणपछि सुनसान बस्तीको रूपमा परिणत हुन थाल्यो । भत्केका पाटीपौवा र पुराना घरहरूमात्र देखिने चित्लाङ अहिले भने पुरानै लयमा फर्किंदै छ ।
‘पहिलाको भन्दा विकसित ढंगले चित्लाङ ‘कमब्याक’ भएको छ,’ चित्लाङवासी एवं पर्यटन बोर्डका अनुसन्धान र अन्वेषण निर्देशक मणिराज लामिछानेले भने, ‘विकासले ओझेलमा पारेको चित्लाङ पाँच दशकपछि विकासको नयाँ स्वरूपले बदलिएको छ ।’
केही वर्षयता मानिसहरू चित्लाङमा तानिन थालेका छन् । अब पहिलेजस्तो चुल्हो, दाउरा दिनुपर्दैन, यहाँ आउने पर्यटकहरू राम्रा होटल र होमस्टेहरूमा बस्न सक्छन् । ‘मान्छेहरू फेरि चित्लाङमा ओइरिन थाले,’ मानन्धर भन्छन्, ‘विगतको चित्लाङ बिलायो भनेको त झन् बौरिएर पो आयो ।’
पुराना पाटीपौवालाई मर्मतसम्भार गरिएको छ । अत्याधुनिक होटल स्थापना गर्न काठमाडौंका होटल सञ्चालकले जमिन खरिद गरेका छन् ।
थाहा नगरपालिकाको ९ र १० नम्वर वडामा विभाजित साबिकको चित्लाङ गाविसमा अहिले दैनिक आन्तरिक र बाह्य पर्यटकहरू टुट्दैनन् । ‘अधिकांश होमस्टे र रिसोर्ट भरिभराउ हुन्छ,’ गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरले भने, ‘एक वर्षदेखि होमस्टे खाली भएको छैन ।’
होमस्टेमा धेरै मानिस खानबस्न आएकाले यहाँका केही होमस्टे सञ्चालकले रिसोर्ट नै स्थापना गरिसकेका छन् । होमस्टेहरू बिस्तारै सुविधायुक्त रिसोर्टमा बदलिँदै छन् । सुनसान भइसकेको गाउँमा यसरी पर्यटक आउलान् भनेर सायद बाबुकाजी मानन्धरले सोचेका थिएनन् । ‘मानिसको मात्र होइन, बस्तीको पनि दिन फिर्दो रहेछ,’ उनले हाँस्दै भने ।
केबलकार र सडक सुविधापछि चित्लाङको रूप बदलिएको स्थानीय निर्मल बलामीले सुनाए । उनका अनुसार आन्तरिक र बाह्य पर्यटकहरू आउन थालेपछि यहाँको जग्गाको मूल्य ह्वात्तै बढेको छ । ‘दुई वर्षअघिसम्म चित्लाङ बजार क्षेत्रमा धुरको एक लाख रुपैयाँमा जमिन खरिदबिक्री भइरहेको थियो । अहिले धुरको न्यूनतम पाँच लाखसम्म पर्छ,’ उनले भने । थानकोट–चन्द्रागिरि केबलकार सञ्चालनमा आएपछि जग्गाको भाउ बढेको उनले बताए । थानकोट–चित्लाङसम्मको सडक स्तरोन्नति सुरु भएपछि जग्गा भाउ नसोचेको ढंगले बढेको होमस्टे सञ्चालक राधाकृष्ण बस्नेत बताउँछन् । ‘जग्गाको भाउ त बढ्यो नै, पर्यटक पनि बढेका छन्,’ उनले भने, ‘शुक्रबार/शनिबार होमस्टे र रिसोर्टले धान्न नसक्ने गरी मानिसहरू आउँछन् ।’
सडकको स्तरोन्नति भएपछि यस क्षेत्रको महत्व अझ बढ्ने चित्लाङ रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले बताए ।
चन्द्रागिरिको काखमा रहेको चित्लाङमा अहिले आठवटा होमस्टे सञ्चालनमा छन् । तीनवटा निर्माणधीन छन् । सानाठूला गरेर १४ वटा होटल र लज चलिरहेका छन् । राजधानी नजिक भएकाले प्रत्येक साता एक हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटक यहाँ आउने गरेका छन् । होमस्टे सञ्चालक समितिका अध्यक्ष बस्नेतले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका साथै प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न पर्यटकहरू आउने क्रम बढेको बताए ।
थानकोटबाट १२ किलोमिटरको दुरीमा भएकाले अधिकांश पर्यटक यहाँ हिँडेर आउँछन् । चित्लाङ नजिकैको मानवनिर्मित इन्द्रसरोवरले पनि यहाँको आकर्षण थपेको हो । ‘बाख्राका दूधबाट चिज उत्पादन र जैतुन खेतीले पनि यस क्षेत्रको महत्वलाई अझ बढाएको छ,’ स्थानीय अशोकसिंह ठकुरीले भने ।
विभिन्न भाषाभाषीको आफ्नै वेशभूषा, बाजागाजा र संस्कृतिले भरिभराउ चित्लाङलाई पाँच वर्षअघि पर्यटन बोर्डले मुलुकको पहिलो पर्यटन गाउँको रूपमा घोषणा गरेको थियो ।कान्तिपुर दैनिकबाट