आलमलाई आजीवन कारावासको मागसहित अभियोगपत्र दर्ता

प्रहरीले नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई आजीवन कारावासको मागसहित सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गराएको छ । रौतहट प्रहरी शुक्रबार आलमलाई ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग तथा बिष्फोटक पदार्थ किनबेच र भण्डारणको मुद्धामा आजीवन काराबास कैदको मागसहित अभियोगपत्र दर्ता गरेको हो ।
२०६४ साल चैत २७ गते पहिलो संविधानसभाको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै सर्वोचको आदेशमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा जलाएको दावी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
सो घटनाबारे १९ दिनदेखिको अनुसन्धान र विभिन्न पक्षबाट प्राप्त प्रमाण सहितको मिसिल शुुक्रबार अपरान्ह तीन बजे दर्ता गराइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले बताए । आलम प्रकरणमा अनुसन्धानका लागी तत्कालीन आइजीपी ओमविक्रम राणा, तत्कालीन डीआइजी किरण गौतम र तत्कालीन सरकारी वकिल ध्रुवमणि ज्ञवालीसँग भेटेर बयान समेत लिएको प्रहरीले जानकारी दिएको छ ।
घटनाका समयमा राजपुरमा खटिएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी र राजीव बस्नेतसँग पनि बयान लिइएको छ । बम बिष्फेटनबाट घाइते सफी मोहम्मद र घटनामा प्रत्यक्षदर्शी एवम् मृतक ओसी अख्तरका ससुरा र अन्य प्रत्यक्षदर्शी, घटनालाई नजिकबाट देखेकाहरुसँग पनि बयान लिइएको प्रवक्ता कार्की बताए ।
केही दिनअघि प्रहरीले घाइतेहरुलाई इँटाभट्टासम्म पुर्याउन प्रयोग भएको ट्याक्टर समेथ बरामद गरेको थियो भने घाइतेहरुको उपचार गरिएको भारतीय अस्पतालको रिपोर्ट पनि ल्याइएको कार्कीले बताए । राजपुरमा भएको बम विस्फोटनमा परी घाइते र मृतक सबैलाई आलमको इसारामा जलाएर मारेको प्रहरीको दावी छ ।
घटनामा त्रिलोकप्रताप सिंह पिन्टु र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जलाएर मारेको प्रहरीको दाबी छ । बम बिष्फोटको घटनापछि स्थलगत अध्ययनमा गएका मानवअधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको रिपोर्टलाई पनि मिसिलमा प्रमाणको रुपमा समावेस गरिएको छ ।
प्रहरीद्वारा दर्ता गरिसएको अभियोगपत्र सोमवार वा मंगलवार जिल्ला अदालतमा दर्ता गरी मुद्धाको प्रकृया अघि बढाउने जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटुवालले बताए । सोमबार अभियोगपत्र दायर भएमा मंगलबार वा बुधवार थुनछेक बहस हुने न्यायधिवक्ता कटुवालले जानकारी दिए ।