नेकपाको सचिवालय बैठक भोलि, चुनावी रणनीति तय गर्ने

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिवार बस्ने भएको छ ।
मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय लगायत चुनावी रणनीतिका बारेमा छलफल गर्न बैठक बस्न लागेको स्रोतले लोकान्तरलाई बतायो ।
यसअघि नै बस्ने भनिए पनि प्रधानमन्त्री अस्वस्थ भएपछि बैठक शनिवारलाई सरेको हो ।
बैठकमा उपनिर्वाचन, बाँकी रहेका एकता प्रक्रिया, सभामुख चयन र मन्त्रिपरिषद हेरफेरसम्बन्धी एजेण्डामा छलफल हुने बताइएको छ ।
शुक्रवार अपरान्ह नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करीब एक घण्टा बालुवाटारमा प्रधानमन्त्री ओलीसँग यिनै विषयमा छलफल गरेका थिए ।