काँग्रेसमा उम्मेदवार छनोटको अधिकार पार्टी पदाधिकारीलाई

बाइलाइन नेपाल
१५ कार्तिक २०७६, शुक्रबार १८:२७

काँग्रेस केन्द्रीय कार्य समिति बैठकले उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उमेदवारको टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ ।

उमेदवार चयनको विधि तय गर्न शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उमेदवारको टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई दिएको हो । महामन्त्री डा. शशांक कोइरालाले पार्टी विधानको धारा ३२ को ८ को ‘घ’ र ‘ङ’ बमोजिम संसदीय समितिले गर्न कार्य पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्न प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव सर्वसम्मत पारित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । योसँग अब काँग्रेस संसदीय समितिले गर्ने सबै काम पदाधिकारी बैठक बाट हुने छन् । पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सामेल हुने छन् । गत निर्वाचनपछि विघठिन भएको संसदीय समिति पुनः गठन नहुँदा उम्मेदवार छनोटको जिम्मा पार्टी पदाधिकारीलाई लगाइएको छ ।

प्रवक्ता शर्माकाअनुसार बैठकमा उक्त प्रस्तावमाथि केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, गोपालमान श्रेष्ठ, एनपी साउद र महेन्द्र यादवले आ–आप्mनो धारणा राखेका थिए ।

उनका अनुसार बैठकले धरान उपमहानगरपालिकामा हुने नगर प्रमुखको उपनिर्वाचनका लागि जिल्लाबाट सिफारिस गरिएका तिलक राईको उम्मेदवारीलाई अनुमोदित गरेको छ ।

उम्मेदवारको अन्तिम टुङ्गो लगाउन काँग्रेस पदाधिकारी बैठक आइतबार दिउसो ३ बजे बस्ने शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु