यातायात क्षेत्रको सेवाप्रवाह अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौंडामा

बाइलाइन नेपाल
१० चैत्र २०८१, सोमबार २०:०९

हेटौंडा । बागमती प्रदेशले अम्वलम्बन गरेको यातायात क्षेत्रको सुधार र असल कामको अध्ययन अवलोकन गर्न कोशी प्रदेशको एक टोली प्रदेश राजधानी हेटौंडा आइपुगेको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको यातायात व्यवस्था कार्यालयका कर्मचारी, कोशी प्रदेश यातायात क्षेत्रको सेवाप्रवाह सम्बन्धी सुधारका लागि गठन भएको कार्यदलसहितको टोली बागमती प्रदेशले गरेका कामको अवलोकन गर्न हेटौंडा आएको हो ।

टोलीले सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको यातायात व्यवस्था कार्यालयले प्रवाह गर्ने सेवा, सिस्टमका बारेमा अध्ययन गरेका छन् । टोलीलाई यातायात व्यवस्था कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रविन श्रेष्ठले स्वागत गर्दै बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालय र यस मातहत रहेका कार्यालयले प्रवाह गरिँदै आएको सेवालाई प्रविधि मैत्री बनाउँदै लगेको जानकारी दिए ।

प्रमुख श्रेष्ठले यातायात क्षेत्रसँग सम्बन्धित सेवाहरू प्रविधिसँग जोडिँदै सेवाग्राहीले अब घरबाटै सेवा लिन सकिने वातावरण बनाइरहेको बताए । उनले बागमती प्रदेशले लागु गर्न लागिएको लाइसेन्स सम्बन्धी New EDL system समेतका बारेमा जानकारी दिए ।

कार्यालय प्रमुख श्रेष्ठले बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका मन्त्री प्रेमभक्त महर्जनले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट सवारी साधनहरूको विवरणहरू डिजिटलाईजेशन गर्ने कार्यको सुभारम्भसँगै यातायात व्यवस्था कार्यालय हेटौंडालगायत अन्य सवारी व्यवस्थापन सम्बन्धी कार्य गर्ने कार्यालयहरूले सवारी साधनहरूको विवरणहरू डिजिटलाईजेशनको कार्य गरिरहेको जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय हेटौंडामा सवारी अभिलेखहरुको डिजिटलाईजेशन गर्दै कर्मचारीहरु

उनले भेइकल रजिष्ट्रेशन सिस्टम (भीआरएस) मा जोडिई ईबिलबुक कार्यान्वयनमा ल्याउने तयारी भइरहेको बताए । त्यसैगरी सेवाग्राहीले वेव पोर्टल https://tmis.bagamati.gov.np बाट आफ्नो सवारीको विवरण प्रविष्टि गरी अनलाईनबाट सवारी कर, नवीकरणलगायत पटके समेत लिन सक्ने व्यवस्था कार्यान्वयनमा रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपमार्फत् लाइसेन्स देखाउने तथा ट्राफिक नियम उलंघन गरेमा सोही एपको ड्राइभिङ्ग लाइसेन्स सूचना प्रणाली अन्तर्गतको त्तच् क्थकतझ बाट जरिवाना गरिरहेको व्यहोरा जानकारी उनले दिए ।

आगामी दिनमा बागमती प्रदेश सरकारले राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरि ड्राइभिङ् लाइसेन्स सम्बन्धी आवेदनलगायतका अन्य सेवाहरू अनलाईनबाटै गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गरिरहेको श्रेष्ठले टोलीलाई जानकारी दिए ।

अवलोकन भ्रमणको नेतृत्व गरेका कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको यातायात व्यवस्था महाशाखा प्रमुख एवम् उपसचिव मानबहादुर देवकोटाले बागमती प्रदेश सरकार र मातहतका कार्यालयले सेवाहरु प्रविधिमा आधारित र सेवाग्राहीमैत्री रहेको बताएका थिए । उनले कोशीमा पनि बागमतीले गरेका प्रविधिमैत्री र असल अभ्यासहरुलाई ग्रहण गर्ने जानकारी दिए ।

अवलोकन भ्रमणमा आएका कार्मचारी तथा समितिका पदाधिकारीले बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्रालय र यस मातहत रहेका कार्यालयहरूले प्रवाह गरेको सेवाहरू प्रविधिसँग जोडिँदै प्रविधि मैत्री बनाउँदै लगेकोमा खुशी व्यक्त गर्दै कोशी प्रदेशले पनि प्रविधिमैत्री बनाउने तयारीमा जुटेको बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु