यसवर्ष भीमफेदी कारागारका ६ कैदीबन्दी एसईई दिँदै

हेटौंडा । मकवानपुरको भीमफेदीमा रहेको कारागारबाट यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६ जना कैदीबन्दीले सहभागिता जनाउने भएका छन् ।
बिहीबारबाट सुरु हुने एसईई परीक्षामा भीमफेदी कारागारमा सवारी ज्यान, जबरजस्ती करणी, डाँका, चोरी र लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका ३ जना बन्दी र ३ जना कैदी एसईई परीक्षामा सहभागी हुने जेलर तीर्थराज पौडेलले बताए ।
कैदीबन्दीहरुले जेलभित्रबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ । हेटौंडा उपमहानगरपालिका—२ स्थित सिद्धार्थ माविबाट एसईई फाराम भरेका थिए । सिद्धार्थ माविका शिक्षकले नै उत्तरपुस्तिका र प्रश्नपत्र लिएर आउँछन् र उनले नै परीक्षा लिने शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीद गिरीले जानकारी दिए ।
एसईई परीक्षामा मकवानपुरबाट ७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ प्राविधिक र साधारण गरी ७ हजार ४ सय ५६ जना जना विद्यार्थीले परीक्षा दिँदै छन् । यस वर्ष ग्रेडवृद्धिका लागि साधारणतर्फ १ हजार ४ सय ९५ र प्राविधिक धारतर्फ ९६ जनाले परीक्षामा सहभागी हुँदैछन् ।
शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख गिरीका अनुसार मकवानपुरमा २८ वटा परीक्षा केन्द्र तोकिएका छन् । गतवर्ष २६ वटा मात्रै परीक्षा केन्द्र तोकिएको मकवानपुरमा यस वर्ष कैलाश गाउँपालिकाको नामटारस्थित कालिका मावि र हेटौंडाको श्रमिक माविमा परीक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले जानकारी दिए । कैलाश गाउँपालिकामा परीक्षा केन्द्र थप गरिएसँगै मकवानपुरको सबै स्थानीय तहमा परीक्षा केन्द्र भएको उनले बताए ।
हेटौंडाका श्रमिक माविमा भने प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि मात्रै केन्द्र तोकिएको छ । उनका अनुसार सबै स्थानीय तहहरुमा केन्द्राध्यक्षहरुलाई खटाइएको छ । एसईई परीक्षाका लागि २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी खटाइएको छ ।
प्रमुख गिरीले सबै केन्द्रहरुमा प्रश्नपत्र र उत्तर पुस्तिकाहरु पुगिसकेको छ । मकवानपुर जिल्लाका सामुदायिक र संस्थागत गरी १ सय ३९ वटा विद्यालयबाट एसईईमा विद्यार्थी सहभागी हुँदैछन् ।