महिलामैत्री सहर बनाउन हेटौंडामा अध्ययन सुरु

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकालाई महिलामैत्री सहरको रूपमा विकास गरिने भएको छ । उपमहानगरपालिकालाई महिलामैत्री बनाउनका लागि अध्ययन सुुरु भएको छ ।
हेटौंडालाई महिलामैत्री सहरको रुपमा विकास गर्न अध्ययनको काम सुरु भएको हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले जानकारी दिइन् । महिलामैत्री सहर निर्माणका लागि कुन क्षेत्रमा काम गर्दा दीर्घकालिन प्रभाव कायम रहन्छ भन्ने अध्ययन सुरु गरिएको उनले बताईन् ।
दुई वर्ष अघिबाट सहरी विकास मन्त्रालयसँगको समन्वयमा नेपालका विभिन्न नगरपालिकालाई महिलामैत्री सहरको रूपमा विकास गर्ने काम चलिरहे पनि अहिले हेटौंडा यस कार्यक्रममा समावेश भएपछि अध्ययन थालिएको मेयर लामाले बताइन् ।
पहिलो चरणमा ५ वटा नगरलाई महिलामैत्री सहर बनाउने कार्यक्रम चलिरहँदा पछिल्लो पटक हेटौंडा र धनगढीलाई समावेश गरी काम अघि बढाउन खोजिएको यूएनओपीएस परियोजनाले जनाएको छ ।
कार्यक्रम कार्यान्वयनका लागि हेटौंडामा परियोजनाका कार्यक्रम व्यवस्थापन विज्ञ चुडामणि जोशी र परियोजनाका सहयोजनाकार वर्षा श्रेष्ठको टोलीले महिलामैत्री पूर्वाधार निमार्णका लागि सम्भाव्य अध्ययन गरिरहेका छन् ।
हेटौंडाकी प्रमुख लामा, इन्जिनियर बिनित ओझासहित परियोजनाको टोलीले हेटौंडा–११ राप्तिपार्क निर्माण स्थल, हेटौंडा–१० को राप्ति तट क्षेत्र, हेटौंडा–८ नगर विकासमा रहेको खुल्ला क्षेत्रको अवलोकन गरेको छ ।
परियोजना अन्तर्गत पहिलो चरणमा खुला सार्वजनिक क्षेत्रको पहिचान, प्राथमिकीकरण, वडाहरूको रेखाङ्कनको काम हुने जनाइएको छ । परियोजनाले देशका २ सय ९३ वटै स्थानीय तहको भ्रमण र अध्ययनपछि कामलाई अघि बढाएको उल्लेख गरेको परियोजनाका विज्ञ जोशीले जानकारी दिए ।
उनका अनुसार हाल हेटौंडा र धनगढीबाहेक विराटनगर, चन्द्रागिरि, सुनवल, चल्मिचौहा, तानसेन र तिलोत्तमा नगरपालिकामा महिलामैत्री सहर निर्माणको काम भइरहेको छ ।
हेटौंडा र धनगढीमा यस परियोजना ४ वर्षसम्म सञ्चालने हुने जोशीले बताए । परियोजनाअनुसार महिलाहरुले सार्वजनिक ठाउँमा महिला र शारिरिक अशक्त भएकाहरुको सहज पहुँचको अवधारणालाई अघि सार्नेछ ।
नयाँ थप भएका दुई उपमहानगरमा युरोपियन युनियन र फिनल्याण्ड सरकारको सहयोग रहने छ । परियोजना कार्यान्वयनका लागि एक पालिकामा करिब साढे पाँच करोड रुपैयाँ खर्च हुने परियोजनाले जनाएको छ ।
हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले युरोपका विभिन्न मुलुकको अध्ययन अवलोकन भ्रमणको समयमा प्रस्ताव गरिएअनुसार महिलामैत्री सहर निर्माणका लागि परियोजना आएको बताइन् ।‘परियोजनाले महिलाको आत्मसम्मानको विकास, जिम्मेवार, भावनात्मक रुपमा थप बलियो बनाउन मद्दत पुर्याउनेछ,’ लामाले भनिन् ।