थाहाका हावाहुरी प्रभावितलाई नगरपालिकाले राहत दिने

बाइलाइन नेपाल
३० फाल्गुन २०८१, शुक्रबार २१:४९

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले हावाहुरीबाट प्रभावित भएका नगरबासीलाई राहत रकम उपलब्ध गराउने भएको छ । थाहामा बिहीबार आएको हावाहुरीले घर र गोठको छाना तथा तरकारी खेतीको टडेल उढाएका नगरबासीलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

थाहा नगर विपद व्यवस्थापन समितिको शुक्रबारको बैठकले छाना उडाएकाहरुलाई बढीमा प्रतिघर ३० हजार रुपैयाँ राहतस्वरुप रकम उपलब्ध गराउने भएको छ । साथै नगरपालिकाले उनिहरुले अहिले त्रिपाल उपलब्ध गराएको छ ।

निजी भवनतर्फका प्राविधिक शाखाका प्राविधिकहरु घररघरमा पुगेर स्टमेट गरेको आधारमा बढीमा प्रतिघर ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको विपद व्यवस्थापन समितिका अध्यक्ष एवं थाहा नगरपालिकाका मेयर विष्णु विष्टले बताए ।

पशु र कृषि शाखाका प्राविधिकहरुले पनि स्थलगत अध्ययन गरेर आइतबारभित्र समितिमा प्रतिवेदन पेस गर्न विपद व्यवस्थापन समितिले निर्णय गरेको थाहा नगरपालिका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए । हावाहुरीले विद्युत्‌का पोलहरु ढालेको छ ।

थाहामा बिहीबार बेलुका हावाहुरी चल्दा तीन वटा वडाका ९९ वटा घरगोठका छाना उडाउनुका साथै दर्जनौं तरकारीका प्लास्टिकका टनेलहरुलाई क्षति पुर्‍याएको छ । हावाहुरीले थाहा—३ मा ५१ वटा घर र ७ वटा गोठका छानाहरु उडाएको छ । ४ नम्बर वडाको २५ वटा घर र ६ वटा गोठका छानाहरु बिहीबार आएको हुरी बतासले उडाएको छ । ५ नम्बर वडाको १० घरको छाना हावाहुरीले उडाएको थाहा नगरपालिकाले जनाएको छ ।

थाहा नगरपालिका—३ मा निर्माणाधीन शितभण्डारको छाना पनि उडाएको स्थानीयवासी सुदर्शन विष्टले बताए । थाहाले तत्कालका लागि हावाहुरीले छाना उडाएका घरधनीहरुलाई त्रिपाल पनि राहत स्वरुप उपलब्ध गराएको छ । ुहावाहुरीले तरकारीका टनेलहरुलाई क्षति पुर्‍याएको छ, त्यसको एकिन विवरण आइपुगेको छैन,ु सूचना अधिकारी भुजेलले भने, ‘टोली क्षतिग्रस्त क्षेत्रमा पुगेपछि त्यसको एकिन विवरण आउने छ ।’

बिहीबार बेलुका साढे ६ बजेतिर पानीसँगै आएको हावाहुरीले घर्तिखोला भैरव मन्दिर माथि क्षेत्रका अधिकांश जस्तापाताको छाना भएका घरहरुको छाना उडाएको छ । थाहा—३ र ४ नम्बर वडाको अधिकांश बस्तीमा बिहीबार बेलुकादेखि विद्युत् अवरुद्ध छ । ‘हावाहुरीले घरको छानामात्र उडाएन तरकारी खेती गरिरहेको प्लास्टिकको टनेल पनि उडायो ।’

वुधवार आएको हुरी वतासले थाहा नगरपालिका—६ वज्रवराहीमा पनि घरको छानाहरु उडाउनुको साथै तरकारी खेतीमा क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु