हेटौंडा क्याम्पसमा अखिल क्रान्तिकारीले लगायो ताला

हेटौंडा । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुरले शुक्रबार साँझ हेटौंडा क्याम्पसमा ताला लगाएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रियामा हेटौंडा क्याम्पस स्ववियु निर्वाचन समितिले गैरकानुनी रुपमा सत्ता पक्षिय संगठनलाई सहज हुने गरी मतपत्रमा नाम सार्वजनिक गरेको भन्दै क्रान्तिकारीले ताला लगाएको हो ।
अखिल(क्रान्तिकारी) मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालको नेतृत्वमा पुगेको टोलीले हेटौंडा क्याम्पस स्ववियु निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ । हेटौंडा क्याम्पसको स्ववियुु निर्वाचन प्रक्रियामा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले छुट्टाछुुट्टै उम्मेदवारी दिएपनि निर्वाचन समितिले मतपत्र गैरकानुनी रुपमा प्रकाशित गरेको भन्दै आपत्ती जनाएको छ । ताला लगाएपछि निर्वाचन समिति र क्याम्पस प्रशासनविरुद्ध विद्यार्थीले नाराबाजी गरेका थिए ।
निर्वाचन समिति सत्ता पक्षीय विद्यार्थी संगठनको पक्षमा लागेको भन्दै गल्ती नसुधारेसम्म ताला नखोल्ने क्रान्तिकारीले जनाएको छ । निर्वाचनको विधि र प्रक्रियाको खिल्ली उढाउँदै नेपाल विद्यार्थी संघ र नेकपा अनेरास्ववियुका फिर्ता लिएका उम्मेदवारीका स्थानमा एकअर्का संगठनका उम्मेदवारलाई राखेर मतपत्र तयार पारेको भन्दै क्रान्तिकारीका मकवानपुर अध्यक्ष अर्यालले निर्वाचन समितिले गल्ती नसच्याएसम्म ताला नखोल्ने र आन्दोलनका कार्यक्रम अघि बढाउने बताए ।
ताला लगाएपछि बोल्दै अखिलका (क्रान्तिकारी) केन्द्रीय नेता दिनेश सुुवेदीले निर्वाचन समिति सत्ता पक्षको पछि लागेको आरोप लगाए । क्रान्तिकारीसँग डराएर निर्वाचन समिति नै सत्ताको पछि लागेको उनले बताए । उनले नेविसंघ र अनेरास्ववियुु हारको मानसिकताबाट ग्रसित भएर गैरकानुनी हर्कतमा लागेको आरोप लगाउँदै उनले वैधानिक रुपमा मैदानमा आउन चुनौती दिए । उनले निर्वाचन समितिलाई स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन गराउन आग्रह गर्दै मतपत्र नसच्याए ताला नखुल्ने र आन्दोलन जारी रहने चेतावनी दिए ।
यसअघि मकवानपुर बहुुमुखी क्याम्पसको स्ववियुु निर्वाचन अन्र्तगत निर्वाचन समितिले समानुपातिकतर्फ नेविसंघ र अनेरास्ववियको नामावलीमा विधि र प्रक्रिया भन्दा फरक रुपमा प्रकाशन गरेपछि अखिल (क्रान्तिकारी) ले ताला लगाएको थियो । निर्वाचन समितिले गल्ती सच्याएर अबदेखि यस्तो गल्ती नगर्ने प्रतिवद्धता पछि ताला खुलेको जनाइएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत्र ५ गते रहेको छ । अन्र्तगत अहिले उम्मेदवारी दर्ता, फिर्ता, दाबी विरोध, उम्मदवारको नामावली प्रकाशन लगायको काम भईरहेको छ ।