वडा अध्यक्षका लागि हेटौंडा–१२ मा १४ जनाको उम्मेदवारी

हेटौंडा । यही मंसिर १६ हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । एक वडाअध्यक्षका लागि हेटौंडा–१२ मा हुन लागेको उपनिर्वाचनमा १४ जनाको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका आइतबार नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवार गरी १४ जनाले मनोनयन दर्ता गराएको कार्यालयका कमल सञ्जेलले जानकारी दिए ।
आईतबार दिनभर विभिन्न दल र स्वतन्त्रहरुले बाजा, झाँकीसहितको ¥याली निकालेर निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुुगेका थिए । जिल्लामा एकमात्र स्थानीय तहको वडामा मात्र निर्वाचन हुन लागेको हुँदा सबै दलका जिल्लाका नेताहरु हेटौंडा–१२ मै केन्द्रीत हुँदा त्यहाँको वातावरण उल्लासमय बन्न पुुगेको थियो ।
वडा अध्यक्ष पदका लागि माओवादी केन्द्रबाट रविकुमार प्रधान (रविन) उम्मेदवारी दर्ता गराएका छन् । प्रधानले उम्मेदवारीमा माधवप्रसाद घिमिरे प्रस्तावक र चन्द्रप्रसाद घलान समर्थक छन् ।
नेकपा एमालेबाट राजेश नगरकोटीले उम्मेदवारी दर्ता गराए । बखानसिंह घलान प्रस्तावक र अर्जुनप्रसाद अर्याल समर्थक छन् । नेपाली कांग्रेसबाट अर्जुन तिवारीले सुदर्शनप्रसाद लामाको प्रस्ताव र शरणबहादुर घलेको समर्थनमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
रास्वपाका आशावीर बलले उम्मेदवारी दर्ता गराएका छन् । राजदेव लामाको प्रस्ताव र चन्द्रबहादुर स्याङ्तानको समर्थनमा बलले उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपाले पहिलो पटक वडामा निर्वाचन लड्दैछ ।
नेकपा (एकीकृत समाजवादी) बाट बलराम बलको मनोनयन दर्ता भएको छ । नेपाल मजदुर किसान पार्टीबाट फूलमाया तितुङ, जसपा नेपालबाट छविलाल वाइवा र मंगोल नेशनल अर्गनाइजेसनबाट दीपा लामाको उम्मेदवारी दर्ता भएको छ ।
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । घलान माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
यस्तै राप्रपाबाट प्रेमबहादुर भ्लोनले मनोनयन दर्ता गराए । राप्रपा उम्मेदवार भ्लोनलाई कमल थापा नेतृत्वको राप्रपा नेपालले समर्थन गर्ने भएको छ ।
राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह र राप्रपा नेपाल मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटाबीच आइतबार बसेको बैठकले भ्लोनलाई राप्रपा नेपालले समर्थन गर्ने सहमति जुटेको राप्रपा सहकोषाध्यक्ष सन्दीप सापकोटाले बताए ।
यसैगरी, १२ नम्बर वडाको उपनिर्वाचनमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार, कुमार पोख्रेल, युनेश लामा सिंन्तान र अर्जुन घलानको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।