हेटौंडा–१२ को उपनिर्वाचनमा आज उम्मेदवारको मनोनयन दर्ता

हेटौंडा। यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । जस अन्र्तगत निर्वाचन हुन लागेको मकवानपुरको एकमात्र स्थानीय तह हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा पनि वडा अध्यक्ष पदमा आज उम्मेदवारहरुको मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ ।
हेटौंडा–१२ मा माओवादी केन्द्रले रविन प्रधान, नेकपा एमालेले राजेश नगरकोटी, नेपाली काँग्रेसले अर्जुन तिवारी, एकीकृत समाजवादीबाट बलराम बल ,राप्रपा प्रेम लामा ब्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीले आशाविर बललाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।
हेटौंडा–१२ निर्वाचन कार्यालयले स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ताको कार्यक्रम रहेको छ । जहाँ दल तथा स्वतन्त्रबाट उम्मेदवार हुनेहरुलाई मनोनयका लागि उम्मेदवारी दर्ता गर्ने समय दिइएको कार्यालयले जनाएको छ ।
उम्मेदवारी बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् ।
उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ ।
मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एकरएक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ ।