माओवादी ज्वालाको कमाण्डमा १२ नम्बरको निर्वाचनमा उत्रियो

बाइलाइन नेपाल
२८ कार्तिक २०८१, बुधबार ०७:२५

हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरले उपनिर्वाचनको कमाण्डर पार्टी सचिव वीरबहादुर घलान(ज्वाला) लाई जिम्मेवारी दिएको छ ।आगामी मंसिर–१६ गते हुने उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका–१२ नम्बर वडामा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।

उक्त उपनिर्वाचनमा आफ्नो किल्लालाई सुरक्षित गर्न माओवादी केन्द्रले सचिव ज्वालालाई चुनावी कमाण्डरको जिम्मेवारी दिंदै मैदानमा उत्रिएको हो । यसअघिको जितलाई निरन्तरता दिने गरी ज्वालाको कमाण्डमा अहिले माओवादी केन्द्रका केन्द्रदेखि वडातहसम्मका नेताहरु चुनावी मैदानमा होमिएका छन् ।

सचिव ज्वालाको कमाण्डमा निर्वाचन परिचालन कमिटी निर्माणसँगै टोल–टोल तथा घरघरमा पुगेर माओवादीलाई मत दिनुपर्ने आवश्यकता र कारणका बारेमा मतदातालाई बुझाउने कामको थालनी भएको छ । परिचालन कमिटी हेटौंडा–१२ नम्बर वडाका २७ वटै टोलमा गठन गरेर निर्वाचनमा होमिएको पार्टी सचिव तथा चुनावी कमाण्डर ज्वालाले जानकारी दिए । उनका अनुसार दुई सय ५१ भन्दा बढी सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरेर चुनावी अभियान सञ्चालन भईरहेको छ ।

माओवादीले रविन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाएर चुनावी प्रचारप्रसारलाई तीब्रता दिईरहेको छ । बिहानदेखि साँझसम्म पार्टीका केन्द्र, प्रदेश तथा जिल्लाका नेताहरु चुनावी क्षेत्रमा खटिएर मतदातालाई आकर्षित गर्ने काम गरिरहेका छन् ।

माओवादी केन्द्रले हेटौंडा–१२ नम्बर वडामा ६ वटा निर्वाचन परिचालन तथा सम्पर्क कार्यालयहरु स्थापना गरेर समन्वयमा चुनावी गतिविधि भईरहेको सचिव ज्वालाले बताए । मुख्य निर्वाचन कार्यालय र सम्पर्क कार्यालयहरु स्थापनालाई पूर्णता दिएसँगै निर्वाचन परिचालनमा सहजता भएको उनले जानकारी दिए । अहिलेसम्मको चुनावी कार्यक्रमले मतदाताले माओवादीलाई अघिल्ला निर्वाचनमा जस्तै साथ र सहयोग गरेर विजयी गराउने अवस्था आफुले महशुस गरेको ज्वालाले बताए ।

चुनावी कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज, केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिका इञ्चार्ज प्रल्हाद लामिछाने, प्रदेश समितिका सदस्यहरु, यसअघि सोही वडाबाट विजयी भई समग्र वडाबासीको मतबाट जिल्ला समन्वय समितिको नेतृत्वमा पुगेका ललित घलान, जिल्ला अध्यक्ष भीम पाख्रिनसहितका नेताहरु दैनिक चुनावी मैदानमा खटिएका छन् ।

हेटौंडा–१२ को निर्वाचनमा हालसम्म नेकपा एमालेले राजेश नगरकोटी, नेपाली काँग्रेसले अर्जुन तिवारी, एकीकृत समाजवादीबाट बलराम बल ,राप्रपा प्रेम लामा ब्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीले आशाविर बललाई उम्मेदवार बनाउने निर्णय गरिसकेक छन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु