बागमतीमा मन्त्रीको व्यवस्थापनमा मुख्यमन्त्रीलाई धौंधौं, अन्ततः मन्त्रालय फुटाइयो

बाइलाइन नेपाल
२७ कार्तिक २०८१, मंगलवार २१:१६

हेटौंडा । बागमतीमा भागबण्डा मिलाउन मन्त्रालय फुटाइएको छ । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको बलियो गठबन्धन सरकारले पनि भागबण्डा मिलाउन मन्त्रालयको संख्या थपेको छ । दुई दल मात्र मिलेर बनेको सरकारलाई समेत मिलाउन असक्षम हुँदा मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ पुर्याएका छन् ।

हालसम्म १३ वटा मन्त्रालय रहेपनि अब भने मन्त्रालयको सख्या १४ पुर्याइने भएको हो । साढे तीन महिनादेखि बिनाविभागीय मन्त्री रहदै मुख्यमन्त्री कार्यालयको एउटा कोठामा सिमित भएका मधुकुमार श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि मुख्यमन्त्री लामा नेतृत्वको सरकारले मन्त्रालय विभाजन गरेको हो । बिना विभागिय मन्त्री श्रेष्ठ काँग्रेसकै सांसद हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी नयाँ मन्त्रालय खडा गर्ने निर्णय गरेको छ । जसलाई सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय नामाकरण गरिएको जनाइएको छ ।

मन्त्रिपरिषद्ले मन्त्रालय फुटाएर १४ वटा बनाउने निर्णय गरेपनि बिनाविभागीय मन्त्री श्रेष्ठलाई जिम्मेवारी तोक्ने निर्णय भने नगरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूुन मन्त्री सुुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्को बैठकले उनलाई छिट्टै जिम्मेवारी तोकिने बताए । सरकारको नेतृत्व लिएको १११ दिन नाघिसक्दा समेत मुख्यमन्त्री लामाले मन्त्रीलाई बेरोजगार नै राखेको भन्दै सर्वत्र आलोचना भएपछि सरकार मन्त्रालय विभाजन गर्न बाध्य भएको थियो । श्रेष्ठले मुख्यमन्त्री लामासँगै साउन ९ गते शपथ ग्रहण गरेका थिए ।

मन्त्रालय विभाजनको विषयमा सत्तारुढ सहयात्री दल कांग्रेस–एमालेबीच लामो समयदेखि विवाद भइरहेको थियो । मुख्यमन्त्री लामाले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गर्ने तयारी गरे पनि एमालेको अवरोधका कारण सम्भव नभएको हो ।

विभाजन गरिएको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा कांग्रेसका विमल ठकुरीले नेतृत्व गरिरहेका छन् । बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, आन्तरिक मामिला तथा कानूून, आर्थिक मामिला तथा योजना, कृषि तथा पशुपन्छी, खानेपानी, ऊर्जा तथा सिंचाइ, भौतिक पूर्वाधार, वन तथा वातावरण, श्रम, रोजगार तथा यातायात, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, संस्कृति, पर्यटन तथा सहकारी, सामाजिक विकास, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय रहेको अब सहकारी मन्त्रालय पनि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु