राक्सिराङ गाउँपालिकाले गर्यो यस्तो निर्णय

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका कार्यालयले आफ्नो अनुमती बिना कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ । पालिकाका भित्र जुुनसुकै संस्था तथा व्यक्तिले कार्यक्रमको आयोजना गरेमा पहिला गाउँपालिका कार्यालयको स्विकृति अनिवार्य गरेको छ ।
राक्सिराङ गाउँपालिकाले एक सूूचना जारी गर्दै पालिकाको क्षेत्राधिकार भित्र कुनै पनि गतिविधि र कार्यक्रम सञ्चालन गर्दा गाउँपालिकाको स्वीकृति अनिवार्य रुपमा लिन आग्रह गरेको छ ।
गाउँपालिकाभित्र व्यक्ति, संघसंस्थाले कुनै पनि कार्यक्रम तथा गतिविधि गर्दा पालिकासँग पूर्वस्विकृति लिनुपर्ने व्यवस्था गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
उनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ अनुसार गैरसरकारी संघसंस्था, उपभोक्ता समिति, सहकारी संस्थालगायतका सामाजिक तथा सामुदायिक संघसंस्थाले स्थानीय तहसँगको समन्वयमा रही कार्य गर्नुपर्ने कानुनी व्यवस्था अनुसार नै पालिकाले सूचना प्रकाशित गरेको जनाएका छन् ।
कानुनी व्यवस्थाको उल्लंघन हुने गरी नियमनकारी निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयबिना नै विभिन्न अनधिकृत व्यक्ति, संस्थामार्फत राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न स्थानका विपन्न जातजाति, भाषाभाषी, धार्मिक समुदायको नाममा खाद्यवस्तु, लत्ताकपडा वितरण, चन्दा सहयोग, स्वास्थ्य शिविर सञ्चालन गर्ने, विभिन्न सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन हुने गरेको भन्दै गाउँपालिकाले समन्वय गरेर मात्रै गतिविधि गर्न आग्रह गरेको छ ।
अवैधानिक गतिविधिका कारणले सिर्जना हुनसक्ने प्रतिकूल परिस्थिति, समुदायको परनिर्भरता बढ्ने, लाभग्राही छनोटमा पारदर्शिता नहुने, सञ्चालक व्यक्ति वा संस्था जवाफदेही नहुने जस्ता अवस्थालाई मध्यनजर गर्दै त्यस्ता गतिविधि निरुत्साहित गर्न पालिकाले उक्त सूचना जारी गरेको राक्सिराङ गाउँपालिका राजकुमार मल्लले बताए ।
गाउँपालिकासँगको समन्वय र स्वीकृतिबेगर गतिविधि सञ्चालन हुन नदिन सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, जनप्रतिनिधि, नगरप्रहरी इकाई र सरोकारवालालाई अनुरोधको साथै निर्देशन दिएका छौं, उनले भने ।