कार्तिक २४ गते प्रचण्ड पालुङ आउने, यस्तो छ तयारी

हेटौंडा । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थाहा नगरपालिकाको पालुङमा आउने भएका छन् ।
माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न प्रचण्ड थाहा नगर आउने भएका हुन् । पार्टी अध्यक्ष प्रचण्ड पालुङ आउने भएपछि नेकपा माओवादी केन्द्र थाहा नगर समितिसहितका भातृ संगठनहरुले तयारीलाई तीब्र बनाएका छन् ।
प्रचण्डले कात्तिक २४ गते शनिबार थाहा नगरको पालुङमा रहेको ईन्द्रायणी चौरमा हुने सम्मेलनको उद्घाटन सत्रको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र थाहा नगरका अध्यक्ष विनोदकुमार लामाले जानकारी दिए । उनका अनुसार त्यसपछि अध्यक्ष प्रचण्डले शहीद तथा बेपत्ता परिवार, पूर्व जममुक्ति सेनालाई सम्मान तथा पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
सम्मेलनलाई भव्य बनाउन तिहार सकिए लगतै तयारी तीब्र बनाईको थाहा नगर अध्यक्ष लामाले बताए । उनले टोल समिति, गाउँसमिति, वडासमिति हुँदै पालिका समितिलाई क्रियाशिल बनाएर सबै प्रकारको तयारीमा जुटिरहेको जानकारी दिए । पार्टीसहित भातृ संगठनहरुलाई समेत तयारीमा खटाईएको अध्यक्ष लामाले बताए ।
स्थलमार्ग आउन लागेका अध्यक्ष प्रचण्डलाई चन्द्रागिरीको सरस्वती बजारमा स्वागत गर्दै मोटरसाईकल ¥यालीसहित पालुङ ल्याउने कार्यक्रम रहेको थाहा नगरका अध्यक्ष लामाले जानकारी दिए । त्यस बीचमा पर्ने थाहा नगरको वडा समितिले अध्यक्ष प्रचण्डलाई स्वागत गर्ने र बज्रबाराहीमा विशेष स्वागत कार्यक्रम रहेको छ ।
कार्यक्रमलाई भव्य बनाउन थाहाको गोपाली गाउँबाट इन्द्रायणी चौरसम्म विभिन्न झाँकीसहित पदैल ¥यालीको तयारी गरिएको अध्यक्ष लामाले बताए । उनका अनुसार ¥यालीमा महिला पञ्चेबाजा, तामाङहरुको झाँक्री नाँच, महिलाहरुको खैजडी, गोपालीहरुको बासुरीको धुन, नेवारहरुको धिमे बाजासहित विभिन्न झाँकीले अध्यक्ष प्रचण्डको स्वागत गर्ने तयारी भएको छ ।
सम्मेलनले बाइसिएल थाहा नगर समितिको नयाँ नेतृत्व चयन गर्ने थाहानगर अध्यक्ष मानसिं दोङले बताए ।