हेटौंडाको राप्तीतटमा छठ पर्वको तयारी

बाइलाइन नेपाल
१८ कार्तिक २०८१, आईतवार २०:२९
फाइल तस्वीर

नेपालीको दोस्रो ठुलो चाड तिहार सकिएसँगै बागमती प्रदेशको राजधानी हेटौंडालगायत तराइका जिल्लामा छठको तयारी सुरु भएको छ । हेटौंडामा पछिल्लो केही वर्षयता छठ पर्वलाई महत्वका साथ मनाउने गरिएको छ।

हेटौंडा–१ राप्ती नदी तटमा छठ पर्वको तयारी भईरहेको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ । राप्तीतट सम्याएर पण्डाल निर्माणको काम भईरहेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडकखण्डबाट राप्तीतटतर्फ जाने बाटामा टेन्ट र ध्वजासहितको गेटहरू निर्माण गरिने छ।

पूजाका लागि आउने भक्तजनहरूका नदि किनारामा पाल टाँगिएको छभने पूजा अवलोकन गर्न आउनेहरूका लागि विभिन्न कलात्मक मूर्तिहरू सजाइने छ ।

अघिल्ला वर्ष राप्तीतटमा हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेकाले त्यहि अनुसार तयारी र व्यवस्थापनको काम भईरहेको समितिले जानकारी दिएको छ ।

छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।

कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ ।

भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ । अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रूपमा समेत उपयोग गरिँदै आएको छ । पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धूमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु