स्पेनका रोड्रीले जिते बालोन डी’ओर अवार्ड
स्पेन तथा म्यानचेष्टर सिटीका मिडफिल्डर रोड्रीले बालोन डी’ ओर अवार्ड जितेका छन् । सोमबार राति फ्रान्सको पेरिसमा भएको समारोहमा रोड्रीले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जितेका हुन् ।
२८ वर्षीय रोड्रीले गत सिजन सिटीका लागि प्रिमियर लिग यूईएफए सुपर र क्लब विश्वकप साथै स्पेनको राष्ट्रिय टोलीबाट युरोकप जितेका थिए ।
सिटीका खेलाडीले बालोन डी’ओर अवार्ड जितेको यो पहिलोपटक हो । उनले रियल मड्रिडका भिनिसियस जुनियर र जुड बेलिङघहम अनि आफ्नै टिममेट एर्लिङ हालान्डलाई पछि पारे । भिनिसियस दोस्रो र बेलिङघहम तेस्रो स्थानमा रहे ।
अवार्ड प्राप्त गरेपछि रोड्रीले आफ्नो लागि उत्कृष्ट क्षण भएको बताए । ‘म र मेरो परिवारको लागि यो एकदमै विशेष क्षण हो,’ उनले भने ।
बालोन डे’ओभरमा फिफा वरियतामा शीर्ष सयमा रहेका राष्ठ्रका पत्रकारहरुको जुरीले गरेको भोटका आधारमा उत्कृष्ट पुरुष खेलाडी छनोट गरिएको हो ।
यस्तै महिलातर्फको अवार्ड स्पेनकी आइतना बोनमाटीले जितिन् । उनले लगातार दोस्रो सिनज यो अवार्ड जितेकी हुन् । रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते भने रियल मड्रिडले क्लब अफ दि इअरको अवार्ड पायो ।
बार्सिलोनाका युवा स्टार लामिन यामलले कोपा ट्रफी जिते भने अर्जेन्टिनाका गोलकिपर एमिलयानो मराटिनेजले उत्कृष्ट गोलकिपर बन्दै यासिन ट्रफी जिते ।
ह्यारी केन र केलिएन एमबाप्पेले गर्ड मुलर अवार्ड जिते । महिलातर्फ उत्कृष्ट क्लबको अवार्ड बार्सिलोनाले जित्यो । महिलातर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड इंग्ल्याण्डकी प्रशिक्षक एम्मा हायसले जिते ।