विशेषबाट सफाइ पाए लगतै घुससहित समातिए अधिकृत साह

बाइलाइन नेपाल
१० कार्तिक २०८१, शनिबार ०७:४७

हेटौंडा । विशेष अदालतबाट चारवटा भ्रष्टाचार मुद्दामा सफाइ पाएको ६ महिना पनि पूरा नहुँदै एकजना अधिकृत अख्तियारको फन्दामा परेका छन् । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु घुस रकमसहित रंगेहात पक्राउ परेका हुन् ।

उनलाई सेवाग्राहीसँग ७८ हजार रूपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो।

आयोगको हेटौँडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले दिएको जानकारीअनुसार बिल भुक्तानीको रकम दिएवापत् सेवाग्राहीसँग घुस लिँदै गर्दा साहलाई पक्राउ गरिएको हो। उनलाई कलैया उपमहानगरपालिका–४ को कार्यालय जाने बाटोमा लेनदेनकै क्रममा पक्राउ गरिएको हो।

विशेष अदालतबाट चारवटा भ्रष्टाचार मुद्दामा न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले गत वैशाख १७ गते एकै दिनको सुनुवाइमा चारवटै मुद्दामा साहलाई एकसाथ सफाइ दिएको थियो।

अख्तियारले उनीविरूद्ध विशेष अदालतमा २०८० जेठ ३ गते पहिलोपल्ट भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जसअनुसार, आर्थिक वर्ष ०७७÷७८ मा सिम्रौनगढ नगरपालिका–९, बारास्थित बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरी ग्राभेल निर्माणसम्बन्धी योजनामा गर्दै नगरेको कामको बिलभरपाई बनाएर १० लाख ८ हजार ९ रूपैयाँ उपभोक्ता समितिसँग मिलेर खाएको पाइएको थियो। मधेस प्रदेश सरकारको अनुदान हिनामिनाबारे संसदीय अनुगमन समितिले यस अनियमिततालाई सतहमा ल्याएको थियो।

त्यही वर्ष उनी संलग्न असार र साउन महिनामा अरू चारवटा भ्रष्टाचार मुद्दा अदालत थपिए। यी सबै मुद्दाको बिगो रकम जोड्दा ५३ लाख रूपैयाँभन्दा बढी हुन्छ।

सिम्रौनगढ नगरपालिकाका–३ मा सामुदायिक भवन निर्माण, वडा नं ३ नयकाटोलमा बर्थिङ सेन्टर निर्माण लगायतका योजनामा उनले एउटै शैलीमा रकम हिनामिना गरेको संसदीय अनुगमन र अख्तियारको अनुसन्धानले देखाएको थियो।

विशेष अदालतमा पहिलो मुद्दा दायर भएपछि २०८० जेठ ३ मा पदबाट निलम्बित भएका थिए। गत वैशाख १७ गते सबै मुद्दामा एकसाथ सफाइ पाएपछि उनको निलम्बन फुकुवा भयो।

निलम्बन फकुवा भएपछि गत साउन २५ गते कार्यालयमा हाजिर भएको नगरपालिकाका प्रमुख किशोरी साह कलवारले बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत साहलाई आफ्नो नगरपालिकामा ल्याउन कुनै कसरत नगरेको र संघीय मामिला मन्त्रालयले पठाएकै कारण हाजिर गराएको उनको भनाइ छ।

घुस रकम लेनदेनका क्रममा रंगेहात समातिएका साहबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख उमाकान्त आचार्यले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*